बाढीको जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा सारिने

सुर्खेत, ३० असार (जागरण) । कर्णाली प्रदेशमा बाढी र पहिरोको जोखिममा रहेकाहरुलाई मनसुन अवधिभर सुरक्षित स्थानमा सारिने भएको छ ।
सोमबार बसेको प्रदेश विपद व्यवस्थापन समितिको बैठकले स्थानीय तहको समन्वयमा सुरक्षित ठाउँ पहिचान गरी नदी किनार र बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीका वासिन्दालाई स्थानान्तरण गर्ने निर्णय गरेको हो ।
उनीहरुलाई खाद्य आपुर्ति र आवास व्यवस्थापन कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले गर्नेछ ।
पीडितको तत्काल उद्धार र राहत वितरणका लागि कम्तीमा ३ महिना एउटा हेलिकप्टर तयारी अवस्थामा राख्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
विपदमा परेकाहरुलाई तत्काल उद्धारका लागि सुरक्षा निकाय पनि तयारी अवस्थामा रहेका छन् । तीनै सुरक्षा निकायलाई निर्देशन दिनुका साथै आवश्यक उपकरणहरुको पनि जोहो गरिएको मन्त्रालयका निमित्त सचिव विनोदकुमार गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयले उद्धारमा खटिने सुरक्षाकर्मीहरुलाई रबर बोट, लाइफ ज्याकेटलगायतका आवश्यक उपकरण उपलब्ध गराउने तयारी गरेको छ ।
उद्धार कार्यको लागि नेपाल प्रहरीको नेतृत्वमा हरेक स्थानीय तहमा उद्धार टोली निर्माण गरी सक्रिय बनाउने, उद्धारका लागि आवश्यक सामग्रीको व्यवस्था मिलाउने, विपद प्रभावित समुदायको लागि खाद्यान्न, लत्ता कपडा लगायतका वन्दोबस्तीका सामग्री व्यवस्थापन गरिने भएको छ ।
प्रदेशका ७९ वटै स्थानीय तहमा विपदमा परेकाहरुको तत्काल उद्वारका लागि कार्यदल गठन गरिने भएको छ ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी, जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय युवा, स्वास्थ्यकर्मी र विभिन्न संघ संस्थाका प्रतिनिधि उक्त कार्यदल (टास्क फोर्स)मा रहनेछन् ।
यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विपद् जोखिम न्युनिकरणका लागि गम्भिरता पुर्वक लाग्न निर्देशन दिनुभएको छ ।
प्रदेश विपद् व्यवस्थापन परिषद्को सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले अबको ३ महिना विपद् प्रतिकार्यमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभएको हो ।
मुख्यमन्त्री शाहीले विपदको घटना जानकारी पाउने वित्तिकै प्रभावकारी रुपमा उद्धारकार्य गर्न निर्देशन दिनुभयो ।
वर्षायामको शुरुवात संगै बाढी, पहिरो, डुवान, सडक अवरोध लगायतका विपदका घटनाहरु बढ्ने भन्दै मुख्यमन्त्री शाहीले उच्च सतर्कता र प्रतिकार्यको तयारीमा रहनुपर्ने बताउनुभएको छ ।
उद्धार तथा उपचारको लागि यातायात पहुँच भएका क्षेत्रमा एम्वुलेन्स र पहुँच नभएका क्षेत्रका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्ने उहाले बताउनुभयो ।