पछिल्लो २४ घण्टामा ४७ जना संक्रमित, ४७ जना डिस्चार्ज

सुर्खेत, ३० असार (जागरण) । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४७ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् ।
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणबाट सोमबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमिमतमध्ये ४१ जना सुर्खेतका हुन् भने रुकुम पश्चिम र दैलेखका दुई÷दुईजना र जाजरकोट र बाँकेका एक÷एकजना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मात्रै ४ महिलासहित २० जना, सिम्ता गाउँपालिकाका ६ महिलासहित २१ जना रहेका छन् ।
यस्तै, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ का दुईजना पुरुष, दैलेख आठबीस नगरपालिकाकी ११ वर्षीय बालिका र नारायण नगरपालिकाका ३५ वर्षीय पुरुष, जाजरकोटको भेरी नगरपालिका ७ र बाँकेको सीतापुर ४ का एक÷एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १६६३ जना पुगेको छ ।
साथै, सोमबार नै कर्णालीका विभिन्न आइसोलेसनबाट ४७ जना डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १४५५ जना पुगेको तिवारीले बताउनुभयो ।