कर्णालीका निजी विद्यालयहरु साउन २ गतेदेखि संचालन हुँदै

सुर्खेत, ३१ असार (जागरण) । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कर्णाली प्रदेशले साउन दुई गतेदेखि विद्यालयमै पठन–पाठन सुरु गर्ने निर्णय गरेको छ ।
पहिलो चरणमा कक्षा ९ र १० का विद्यार्थीहरुलाई विद्यालयमै उपस्थित गराएर भौतिक रुपमै पठन–पाठन सुरु गर्न लागिएको कर्णाली प्रदेशका अध्यक्ष नैनसिंह खत्रीले जानकारी दिनुभयो ।
कर्णालीका अधिकांश विद्यार्थीहरु दूरशिक्षाको पहुँचबाहिर रहेकाले तत्कालका लागि कक्षा ९ र १० का विद्यार्थीहरुलाई विद्यालयमै भौतिक रुपमा पढाउने तयारी थालेको अध्यक्ष खत्रीले बताउनुभयो ।
उहाँले विद्यार्थी तथा अभिभावकको अनुरोधका आधारमा विद्यालयमै विद्यार्थीहरुलाई पठाइन लागेको बताउनुभयो ।
प्याब्सनले एउटा कक्षा कोठामा १५ जना मात्रै विद्यार्थी राख्ने, एउटा बेन्चमा एक जना मात्रै विद्यार्थी राख्ने, प्रत्येक कक्षा कोठामा विद्यार्थीहरुका लागि हात धुने पानी र साबुनको छुट्टाछुट्टै व्यवस्था गर्ने, विद्यालय हाताभित्र प्रवेश गर्नुअघि थर्मल गनमार्फत ज्वरो चेकजाँच गर्ने, स्यानिटाइज गर्नेलगायतका व्यवस्था मिलाइने जनाएको छ ।
प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले चार महिनादेखिको बन्दाबन्दी (लकडाउन) का कारण विद्यार्थीहरुको पठन–पाठन प्रभावित भएकाले सुरक्षाका मापदण्डहरु अपनाउँदै कक्षा सञ्चालन गर्न लागिएको बताउनुभयो ।
कर्णाली प्रदेशमा कक्षा ९ र १० कक्षा सञ्चालन हुने संस्थागत विद्यालयहरुको संख्या ७७ छ । प्याब्सनका अनुसार तिमध्ये सुर्खेत ५४ विद्यालय, सल्यानमा पाँच, रुकुम पश्चिममा सात, जुम्लामा चार, मुगु र दैलेखमा दुई–दुई, कालिकोट, डोल्पा र हुम्लामा एक–एक विद्यालय रहेका छन् ।