कर्णालीमा कोरोना संक्रमितको संख्या १७ सय नजिक, समुदाय स्तरमा फैलियो कोरोना

सुर्खेत, ३१ असार (जागरण) । कर्णाली प्रदेशमा गत २४ घण्टामा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै संक्रमितकोे संख्या एक हजार ६ सय ९० पुगेको छ ।
प्रदेश अस्पतालअन्तर्गत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ४ र दैलेख अस्पताल दैलेखमा ६ जनागरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा आज पुष्टी भएका नयाँ संक्रमितमध्ये सुर्खेतका १४, दैलेखका ६, जुम्ला ५, जाजरकोट र काठमाण्डौका १–१ जना रहेका प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा शाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।
यस्तै गत २४ घण्टामा नै ७ जनाले कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या एक हजार ४ सय ६२ पुगेको छ ।
प्रदेश अस्पताल सुर्खेतबाट ४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एक जना, डोल्पा अस्पताल डोल्पाबाट २ जना, गुरास आइसुलेसन सेन्टर दैलेखबाट १ गरी ७ जना आज डिस्चार्ज भएका डाक्टर तिवारीले बताउनुभयो ।
कर्णालीमा अहिले सम्म कोरोना भाइरस पृष्टी भइ मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
यसैविच, कर्णाली प्रदेशसभाका एकजना सदस्यमा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । कर्णालीको प्रदेश सभाका सदस्यमा कोरोना देखिएपछि प्रदेश सभामा त्रास बढेको छ ।
आइतवार ती प्रदेश सदस्यसहित अन्य ३ जनाको स्वाब प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा जाँच गर्दा कोरोना पुष्टि भएको छ ।
ती सदस्यका प्रमुख स्वकीय सचिवले कोरोना देखिएको पुष्टि गर्नुभयो । प्रदेश सभामा नै ती सांसदको आज ‘कन्ट्याक्ट ट्रेसिङ’ गरि स्वाब संकलन गरिएको प्रदेश सभाले जनाएको छ । हाल संसद बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ ।