कर्णालीमा कोरोना जितेर घर फर्किनेको संख्या करिब १५ सय नजिक

सुर्खेत, १ साउन (जागरण) । कर्णाली प्रदेशबाट कोरोना जितेर घर फर्किनेको संख्या करिब १५ सय पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ जनाले कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या एक हजार ४ सय ७५ पुगेको हो ।
आज डिस्चार्ज हुनेहरुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एक जना, दैलेख अस्पताल दैलेखबाट ४ जना, नौमुले आइसुलेसन सेन्टर दैलेखबाट ३ जना, शान्नीत्रिवेणी आइसुलेसन सेन्टर कालिकोटबाट ४ जना र पलाँता आइसुलेसन सेन्टर कालिकोटबाट एक जना रहेको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा शाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

यस्तै, प्रदेशमा आज थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै संक्रमितकोे संख्या एक हजार ७ सय १४ पुगेको छ ।
प्रदेश अस्पतालअन्तर्गत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २१ र चौजहारी नगरपालिका पिसिआर प्रयोशाला रुकुम पश्चिममा ३ जनागरी थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा आज पुष्टी भएका नयाँ संक्रमितमध्ये सुर्खेतका १४, सल्यानका ५, दैलेखका ३, जुम्ला र आछामका १–१ जना रहेका डाक्टर तिवारीले जानकारी दिनुभयो ।
कर्णालीमा अहिले सम्म कोरोना भाइरस पृष्टी भइ मृत्यु हुनेको संख्या ६ पुगेको छ ।