जुम्लामा कुपोषण दर घट्दै

जुम्ला, १ साउन (जागरण) । जुम्लामा कुपोषण दर घट्दो क्रममा रहेको छ । स्वास्थ्य कार्यालय जुम्लाको पाँच वर्षको तथ्याङ्क अनुसार कुपोषण दर घट्दो क्रममा रहेको हो ।
विसं २०७२ मा एक वर्षमुनिका बालबालिका १० दशमलव ६ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १५ दशमलव ४ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका १२ दशमलव ७ प्रतिशत कुपोषित रहेका थिए ।
त्यसैगरी विसं २०७६ मा एक वर्षमुनिका बालबालिका ३ दशमलव ७ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका ७ दशमलव ८ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका ५ दशमलव ७ प्रतिशत कुपोषित रहेका जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।
महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण गरी पोषणयुक्त बनाउनका लागि नेपाल सरकार, कर्णाली प्रदेश सरकार र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन गरिएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताउनुभएको छ ।