सुर्खेत, ५ साउन (जागरण) । कोरोना महामारी रोकथामका लागि देशभरका शिक्षालय बन्द रहेका बेला कर्णाली प्रदेश सरकारले स्वास्थ्यको जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी गरेको छ ।
प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण नदेखिएका ठाउँमा विद्यालय खोल्नका लागि केन्द्र सरकारलाई गत जेठ र असारमा दुईपटक लिखित अनुमति मागेकामा हालसम्म कुनै निर्णय प्राप्त नभएकाले अब प्रदेश र स्थानीय तहमै निर्णय गरेर विद्यालय खोल्न लागिएको हो ।
मुलुकभर बन्दाबन्दी जारी गर्ने अधिकार केन्द्रको भए पनि विद्यालय तहको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी संविधानतः स्थानीय तहको भएकाले स्थानियतहले निर्णय गरेर विद्यालय खोल्न प्रदेश सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आज सञ्चालन गरेको भर्चुअल छलफलको एघारौँ शृङ्खलामा सहभागी कर्णाली प्रदेशका सरकारका प्रमुख सचिव टेकनारायण पाण्डेले जोखिम नभएका कर्णाली प्रदेशका माथिल्लो जिल्लाका विद्यालयमा अनलाइन वा सञ्चारमाध्यमको पहुँच कम भएका क्षेत्रमा विद्यालय नखुलाइए शैक्षिक रिक्तता र क्षति बढ्ने भएकाले अब विद्यालय सञ्चालन गर्नको विकल्प नभएको बताउनुभयो ।
कर्णालीमा प्रदेश सरकारको सो प्रस्ताव सङ्घीय सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत कोरोना रोकथाम र व्यवस्थापन केन्द्र (सीसीएसी) मा पुगेको जनाइएको छ ।
हिमाली जिल्लामा फागुनमा शैक्षिकसत्र सुरु भई मङ्सिरमा वार्षिक परीक्षा लिइसक्नुपर्ने भएकाले लामो समय पढाइ रोक्न नहुने प्रदेश सरकारको निष्कर्ष छ । कर्णाली प्रदेशमा दुई हजार ७ सय १९ बाल विकास केन्द्र, तीन हजार एक सय ८७ विद्यालय र ५६ क्याम्पस तथा करिब छ लाख विद्यार्थी छन् ।
प्रदेशको, सामाजिक विकास मन्त्रालयका कामु सचिव धर्मजीत शाहीले वैकल्पिक रुपमा पठन–पाठनलाई निरन्तरता दिन र विद्यालय तत्काल खोल्न स्थानीय तह र विद्यालय तहबाट सक्रियता नदेखिएको स्थितिमा प्रदेश सरकारले चाँडै आवश्यक पहल गरिने कर्णाली रैबारलाई बताउनुभयो ।
उहाले लामो समयदेखि विद्यालयहरु बन्द हुँदा विद्यार्थीहरुमा विभिन्न समस्या देखिन थालेको भन्दै कम जोखिम भएका क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर पठनपाठन शुरु गर्न सकिने बताउनुभयो ।