कर्णालीमा एकजनामा मात्र देखियो कोरोना संक्रमण

सुर्खेत, ५ साउन (जागरण) । पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना महामारी यताकै सवैभन्दा कम १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा शाखाले जारी गरेको विज्ञप्ति अनुसार सल्यानका १ जनामा संक्रमण पुष्टि भएको हो ।
सल्यानको बनगाड नगरपालिका वडा नम्वर १ का ३५ बर्षिय पुरुषमा कोरोना देखएको महाशाखाको विज्ञप्तिमा उल्लेख छ ।
यो संगै कर्णालीमा हालसम्म संक्रमति हुनेको संख्या १ हजार ७ सय ३८ रहेको छ । अहिले सम्म कर्णालीमा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।
मुड्केचुला आइशोलेसन सेन्टर डोल्पाबाट १ जना कोरोनामुक्त भई डिस्चार्ज भएसँगै कर्णाली प्रदेशमा हालसम्म कोरोना जितेर घर जानेको संख्या १ हजार ५ सय ११ जना रहेको स्वास्थ्य सेवा शाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।
कर्णालीमा अव सक्रिय विरामीको संख्या अहिले २ सय २१ रहेको छ । जसमध्ये सवैभन्दा धेरै सुर्खेतमा १ सय २६, दैलेखमा ३५, जाजरकोटमा ५, सल्यानमा १७, रुकुम पश्चिममा १४, जुम्लामा ६ ,कालिकोटमा ११ र मुगुमा १ जना विरामी रहेका छन् ।
यसैबिच, जुम्लाका स्थानीय तहमा रहेका क्वारेन्टिन रित्तिदै गएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले आज सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले जिल्लाभर ४ जना मात्र क्वारेन्टानमा रहेका छन् । मान बहादुर कुँवरको सहयोगमा ।