बुद्धीमान पुन ।
सल्यान, ६ साउन (रेडियो राप्ती) । सल्यानमा ९५ प्रतिशत धान रोपाई सकिएको छ । यस बर्ष समयमा नै लगातार वर्षात भएको र खोलाहरको पानीको सहत बढेकाले जिल्लामा ९५ प्रतिशत धान रोपाई सकिएको हो ।
धान खेतीको लागी राम्रो सम्भाबना भएको यस जिल्लामा अब ५ प्रतिशत मात्रै धान रोप्न बाँकी रहेको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।
सिंचाई सुबिधा भएकोमा असारको पहिलो साता सम्म लगभग धान रोपाई सकिएको थियो भने बाँकी क्षेत्रमा पनि समयमा नै पानी परेकाले यस बर्ष अहिले सम्म ९५ प्रतिशत धान रोपाई भएको कार्यालयका सुचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँले अबको केही दिनमा नै जिल्लाभर धान रोपेर सकिने बताउनुभयो । बिशेषतः जिल्लाको कालीमाटी रामपुर, काप्रेचौर, छायाक्षेत्र, झिम्पे, त्रिबेणी, स्यानीखाल, डाँडागाउ लगाएतका बिभिन्न ठाउँमा बढी मात्रामा धान खेती हुने गरेको छ । किसानहरुले समयमै धान खेती गरेकाले गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा वृद्धि आउने अनुमान गरिएको बस्नेतले बताउनुभयो ।
गत आर्थिक बर्षमा जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।