मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिस्ट्रारका लागि दौडधुप

सुर्खेत, ७ साउन (जागरण) । असार २९ गतेदेखि रजिस्ट्रार विहीन बनेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले रजिस्ट्रारका लागि आवेदन आहृवान गरेपछि दौडधुप सुरु भएको छ ।
रजिस्ट्रारका लागि १९ जनाले आवेदन दिएका छन् । तर विश्वविद्यालयले पूर्वडीन तथा सेवा आयोगका सदस्य प्राध्यापक डाक्टर केशरसिंह राना, पूर्वडीन प्राध्यापक डाक्टर दीपबहादुर रावल, पूर्वडीन सह–प्राध्यापक अनन्तराज घिमिरे, डाक्टर नारायप्रसाद पौडेल शर्मा, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख उपसचिव जीतबहादुर शाह र डाक्टर वुद्धि सापकोटाको नाम मात्र सार्वजनिक गरेको छ ।
केही व्यक्तिहरुको नाम सार्वजनिक भइसके पनि विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले गोपनीयताका कारण सबैको नाम सार्वजनिक नगरिएको बताउनुभएको छ । सार्वजनिक भएका व्यक्तिमध्ये बाटै रजिस्ट्रार बन्ने आकलन गरिएको छ ।
नाम सार्वजनिक भएपछि उनीहरु आफ्नो पक्षमा माहोल बनाउन शक्ति केन्द्र धाउन थालेका छन् । रजिष्ट्रारका लागि राजनितिक दलका नेताहरुसम्म उनिहरु पुगेका बुझिएको छ ।
रजिष्ट्रारको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई छ । छनोट प्रक्रिया पारदर्शी बनाउन भन्दै विश्वविद्यालयले रजिष्ट्रारसँगै विभिन्न तीन संकायका डीनका लागि खुला दरखास्त आहृवान गरेको थियो ।