प्राविधिक शिक्षामा छोरी–बुहारी कार्यक्रम प्रभावकारी

पंख बहादुर शाही ।
सुर्खेत, ११ साउन (जागरण) । प्राविधिक शिक्षामा छोरी–बुहारीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको छात्रवृति कार्यक्रम प्रभावकारी बन्न थालेको छ ।
सरकारको छोरी–बुहारी छात्रवृत्ति अन्तर्गत प्रदेशका एक सय ५० जना महिला प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन् । प्रदेश सरकारले स्वास्थ्य, कृषि, इन्जिनियर लगायतका प्राविधिक विषयमा प्रदेशका छोरी–बुहारीलाई छात्रवृत्ति दिने व्यवस्था गत बर्ष सञ्चालनमा ल्याएको हो ।
सामुदायिक विद्यालयबाट माध्यामिक शिक्षा (ंएसइई) उत्तिर्ण भएर प्राविधिकधारका विषयहरु अध्यन गर्न चाहने छात्राहरुको भविष्य शुनिश्चित गर्नका लागि यो कार्यक्रम सञ्चालनमा ल्याईएको कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालय अनुसार छात्रवृत्ति अन्तर्गत १७ जनाले कृषि विज्ञान, ११ जनाले बाली विज्ञान पढिरहेका छन् । यस्तै पशु विज्ञान ७ जना, नर्सिङ्ग ३३ जना, फार्मेसी ३ जना, मेडिसिन ३ जना, ल्याब टेक्निसियन ५ जना, सिभिल इन्जिनियर १२ जना, रेडियोग्राफी ३ जना र एचए १५ जनाले पढिरहेका छन् ।
छात्रवृत्ति कार्यक्रमका लागि गत बर्ष प्रदेश सरकारले एक करोड ३१ लाख, ६२ हजार आठ सय पाँच रूपैयाँ खर्च गरेको थियो ।
गत बर्ष समान रुपमा सबै वर्ग समुहका छात्राहरु कार्यक्रममा समावेस भएका थिए । तर, धनी, गरिब छुट्याउने आधार नभएकाले समान ढङ्गबाट भएपनि आर्थिक विपन्न वर्ग समुदायका छात्राहरुलाई समेट्ने खालको रणनीति अपनाईने निर्देशनालयका निर्देशक दिपा हमाले जानकारी दिनुभयो ।
हमालका अनुसार गत बर्ष एक जनालाई बढिमा १ लाख ५० हजार सहयोग गर्ने भनिएको थियो भने यो बर्ष १ लाख बजेट प्रति व्यक्तिलाई दिईने गरी कार्यविधि बनाइएको छ ।
गत बर्ष प्रत्येक जिल्लाका १० ÷१० कोटाको रुपमा वितरण गरिएको बताउँदैं हमालले यो बर्ष पनि एक जना विद्यार्थीलाई १ लाखको दरमा एक करोड रकम विनियोजन गरेको बताउनुभयो ।