पंख बहादुर शाही ।
सुर्खेत, १३ साउन (जागरण) । विकास निर्माणका टुक्रे आयोजनाहरु श्रम सहकारी मार्फत सञ्चालन गर्ने योजना कार्यान्वयन गर्न शुरु गरिएको कर्णाली प्रदेशले जनाएको छ ।
वडा स्तरमा टेण्टर सिस्टम बाहेकका सडक निर्माण, मर्मत, खानेपानी, भवनलगायत साना खालका विकास निर्माणमा श्रम कार्यदल र श्रम स्वयंमसेवक परिचालन गरि काम गर्न थालिएको हो ।
उपभोक्ता समितिको विकल्पका रूपमा श्रम सहकारी मार्फत विकास निर्माणको काम गराईँदा गुणस्तरीय, दिगो विकासको अपेक्षासहित अवधारण ल्याईएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
पछिल्लो समय मुख्यमन्त्रि रोजगार कार्यक्रमबाट यो कार्यको सुरुवात भएको प्रदेश सरकारले जनाएको छ । प्रदेशका कतिपय स्थानीयतहहरुले समेत श्रम रोजगार बैँक÷श्रम रोजगार कार्यदल स्थापना गरेर काम सञ्चालन गरिसकेको छन् ।
कालिकोटको रास्कोट नगरपालिका, दैलेखको भगवतीमाई गाउँपालिकाले श्रम रोजगार कार्यक्रम सञ्चालन गरी स्थानीयलाई गाउँमै रोजागरी सृजना गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार स्थानीयस्तरमा पनि श्रमलाई सम्मान गर्न, बेरोजगारीका कारण विदेश जानेहरुका लागि आन्तरिक श्रमको माध्यामबाट पुर्ती गर्नुपर्छ भन्ने उद्देश्यका साथ अभियानको शुरुवात गरिएको हो ।
कार्यालयका प्रवक्ता एवं सुचना अधिकारी केशवप्रसाद उपाध्यायका अनुसार यो अभियानलाई सञ्चालन गर्नका लागि कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यविधिहरु तयार गर्न थालिएको कर्णाली रैबारलाई बताउनुभयो ।
उहाले स्थानीयस्तरका बेरोजागर युवाहरुलाई रोजगारी सृजना हुने र आफ्नो ठाउँको विकास आफैँ गरौँ भन्ने शन्देश दिनका लागि पनि यो नीति ल्याईएको बताउनुभयो ।
कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७७÷०७८ को आफ्नो नीति कार्यक्रममा श्रम कार्यदल र श्रम स्वयंमसेवक परिचालन गर्ने बताएको थियो ।