बाढीपहिरोले कर्णालीका विभिन्न जिल्लामा गरी १२ जनाको मृत्यु, प्रदेशभर दुई करोडभन्दा धेरै क्षती

नन्द कठायत ।
सुर्खेत, १५ साउन (जागरण) । सोमवारदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले कर्णालीका विभिन्न जिल्लामा गरी १२ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।
बर्षाका कारण कालिकोटमा मात्र ३ दिनमा १० जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । त्यसैगरी रुकुम पश्चिममा २ जनाको मृत्यु भएको छ ।
नरहरिनाथ गाउँपालिकामा छुट्टा–छुट्टै ठाउँमा पहिरो जाँदा नौजनाको मृत्यु भएको छ । भने ६ जना वेपता भएका नरहरिनाथ गाउँपालिका– ७ भाटगाउँको बाकाँमा पहिरो जाँदा एकैघरका सातजनाको मृत्यु भएको हो भने गाउँपालिको ४ नं. वडा माझगोठीमा दुईजनाको मृत्यु भएको छ ।
पहिरोले घर पुर्दा ६५ वर्षीय गंगे बुढा, उहाँकी श्रीमती ६१ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, सात वर्षीय नाति राम बुढा, डेढ वर्षीय नाति चरित्र बुढाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रवक्ता एवम एसएसपी राजेशनाथ बास्तोलाले कर्णाली रैबारलाई बतउनुभयो ।
यस्तै, कर्णाली प्रदेशमा १४ दिनमा दुई करोड ५८ लाख ८१ हजार सातसय रुपैयाँ बराबरको क्षति भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार साउनको १४ दिनसम्म बाढी र पहिरोबाट कर्णाली प्रदेशमा १४ जनाको मृत्यु भएको छ । भने १३ घाइते भएका छन् । सबै भन्दा धेरै मानविय क्षती कालिकोटमा भएको छ । प्रहरीकाका अनुसार प्रदेशभर ४० वटा घरमा पूर्ण रुपमा क्षती भएका छन् ।
जसमध्ये हुम्लामा सबैभन्दा बढी ३१ घरमा क्षती पुग्दा एक करोड ८५ लखा ८० हजार बराबारको क्षेती भएको प्रदेश प्रहरी प्रवत्ता बास्तोलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढी पहिरोबाट सुर्खेत, दैलेखमा एक–एक जना, र रुकुमपश्चिममा दुई जनाको मृत्यु भएको छ । भने पहिरोले तीन वटा घर बगाएको छ ।
बाढी र पहिरोका कारण सडकहरु पनि अवरुद्ध भएका छन् । यस्तै प्रदेशमा १० वटा पशु मरेका छन् ।
यस्तै असार २५ गते जाजरकोटको बारेकोटमा गएको पहिरोले ११ जनाको मृत्यु भएको थियो भने एक जना अझै पनि बेपत्ता रहेका छन् ।यसैबिच, लगातारका बर्षाका कारण दैलेखको आठबीस नगरपालिकामा पहिरोले ६ घर परिवार विस्थापित भएका छन् । अबिरल वर्षासँगै गएको पहिरोले आठबीस ५, मालाचौरका ६ घर विस्थापित भएका हुन ।
आज बिहान गएको पहरोले एक घुम्तीसहित तीन घर बगाइ सकेको छ भने तीन घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखलाई उद्धृत गर्दै रेडियो ध्रुवताराले समाचार पठाएको छ ।
यता, एक दर्जनभन्दा बढी ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल बर्षाका कारणले राजमार्गको दैलेख, कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको जनाइएको छ ।