सुर्खेत, १५ साउन (जागरण) । कृषकहरुलाई आवश्यक पर्ने मल छिटो उपलब्ध बनाउन अगुवा कृषक समुहरुले माग गरेका छन् ।
कृषकले खेतबारीमा मल राख्ने बेला मलको अभाव सृजना भएको भन्दै मल छिटो उपलब्ध बनाइदिन माग गरेका हुन् ।
नेपाल सरकारको सहुलियत दरमा उपलब्ध हुने अनुदानको मल अभाव भएपछि कृषकका अगुवा संघ संस्थाहरुले ज्ञापन पत्र पेश गरेका छन् ।
मलको अभाव भई धानबाली पूर्णतया प्रभावित हुने कृषकको मेहनत र लगानी खेर गई प्रदेशमै भोकमरीको अवस्था सृजना हुने भन्दै कृषकका अगुवा संस्थाहरुले ध्यानाकर्षण भएको बताएका छन् ।
जिल्ला कृषि सहकारी संघ लि, राष्ट्रिय कृषक महासंघ नेपाल, जिल्ला सहकारी संघ, नेपाल जडिबुटी व्यवसायी संघ सुर्खेतले ज्ञापन पत्र पेश गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई कृषकका अगुवाहरुले ज्ञापन पत्र बुझाएका थिए ।