एसईईको नतिजा साउन २१ भित्र

काठमाडौं, १५ साउन (जागरण) । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन २१ गते सम्म प्रकाशन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
२१ गते भित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।
कोरोना भाइरस (कोभिड–१९) का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।
विद्यालयहरूले जिल्ला समन्वय इकाइ मार्फत बोर्डमा पठाएको अंक रुजु भइरहेको सदस्य सचिव अर्याल बताउनुभयो । ६ चैतका लागि निर्धारित परीक्षा अन्तिम समयमा स्थगित भएको थियो । यो वर्ष देशभरी ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।
विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरूमध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको थियो ।