सुर्खेत, १२ जेठ (जागरण) । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेसन शुक्रबारदेखि सुरु भएको छ । प्रदेश सरकारको प्रस्तावमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले शुक्रबारदेखि अधिवेशन आव्हान गर्न भनी पठाउनुभएको पत्र सभामुख राजबहादुर शाहीले पढेर सुनाउनुभएको थियो ।
बैठकमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले सामाजिक संघसंस्था सम्बन्धी ब्यवस्थापन गर्न बनेको बिधेयक २०७५ संसदमा पेस गर्नुभयो ।
त्यस्तै आन्तरिक ममिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश सरकारको सार्वजनिक लिखत सम्बन्धी बिधेयक २०७५ र नगर तथा गाउँसभाको कानून निमार्ण प्रक्रिया सम्बन्धी बिधेयक २०७५ को मस्यौदा संसदमा पेस गर्नुभयो ।
यस्तै, आजको संसद बैठकले संसद सचिवालय ब्यवस्थापन गठन र क्षमता अभिबृद्धि सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
पहिलो गासमै ढुंगा
कर्णाली प्रदेशका सांसदहरुले बजेट कार्यान्वयनका लागि प्रदेश सरकारको आफ्नै कार्यविधी र संरचना आवश्यक रहेको औँल्याएका छन् ।
शुक्रबारदेखि शुरु भएको कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनमा बोल्दै सांसदहरु यस्तो माग गरेका हुन् ।
वैठकमा बोल्दै सांसद सीता कुमारी नेपालीले चालु आर्थिक वर्षको अन्तिम तीन महिनाका लागि बजेट ल्याईएपनि कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।
उहाँले बजेट कार्यान्वयनका लागि कार्यविधी निर्माण गर्न सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । सांसद नेपालीले तीन महिने बजेटलाई कर्णालीको विकासको पहिलो पाईला भनिएपनि बजेट कार्यान्वयन नहुँदा पहिलो गासमै ढुंगा लागेको अनुभुति गरेको बताउनुभयो ।
सांसद नेपालीले करिब चार वर्षदेखि त्रिपालमुनि कष्टकर जीबन गजार्दै आएका सुर्खेतका बाढीप्रभावितको पुनःस्थापनातर्र्फ पनि ध्यानाकर्षण गराउनुभयो ।
उहाँले हुरी बताससँगै वर्षादको समय पनि शुरु भईसकेको भन्दै पहिलो अधिवेशनदेखि नै आफूहरुले माग गरेपनि सुनुवाई नभएको गुनासो गर्नुभयो ।
यस्तै, सांसद गुलाबजंग शाहले सरकारले तीन महिने बजेट ल्याएपनि कार्यान्वन नहुँदा जनतामा नकारात्मक भावना उत्पन्न भएको उल्लेख गर्नुभयो । उहाँले जनताको भावनाअनुसार काम गर्न सरकारलाई सुझाव पनि दिनुभयो ।
सांसद हिमबहादुर शाहीले संसदको सफलतको कामना गर्दै अहिले चलिरहेको गतिमा सरकार नचल्ने जिकीर गर्नुभयो ।
संसदको अर्को वैठक आईतबार दिउँसो ३ बजे बस्नेछ ।