पशु र बाली बीमा किन बन्न सकेन प्रभावकारी ?

पंखबहादुर शाही ।
सुर्खेत, १८ साउन (जागरण) । कृषकहरु अनुभिज्ञ हुँदा सरकारले विगत ६ बर्ष अघिदेखि लागू गरेको बाली तथा पशुचौपायाको बीमा हिस्सा कर्णाली प्रदेशमा बढ्न सकेको छैन । कृषकलाई सहुलियत कर्जा देखी अनुदान तथा बाली बीमाको सुविधा सरकारले ल्याए पनि बीमाको प्रभाव जनस्तरसम्म नपुगेको हो ।

कर्णाली प्रदेशको कृषि विकास निर्देशनालयका बागबानी विकास अधिकृत एवम् सुचना अधिकारी भक्तिराम शर्माले कर्णालीमा बीमा गर्नेहरुको संख्या न्युन रहेको बताउनुभयो ।

१० ओटा जिल्ला मध्ये जुम्ला, कालिकोट, सल्यान, जाजरकोट, रुकुमपश्चिममा कृषि तथा पशुको बीमा गर्ने कृषकहरुको संख्या केही मात्रामा छ । यद्यपी, सवै कृषकहरुले बीमा गर्ने गरेका छैनन् ।

कृषि तथा पशु बीमाका लागि बीमा कम्पनीहरुलाई जिम्मा दिइएको र सजिकरणमा आफुहरुले सघाइरहेको उहाँले कर्णाली रैबारलाई जानकारी गराउनुभयो ।

बीमा समितिले नेपालका सबै किसिमका बालीहरुको बीमा गर्न मिल्ने प्रावधान बनाएको छ । पशुधन बीमा, पंक्षी बीमा, धानबाली बीमा, आलुबाली बीमा, फलफूल बाली बीमा, माछा बीमा, च्याउ बीमा, अष्ट्रिच बीमा तथा मौरी बीमाको व्यवस्थापन गरिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुले फलफुल तथा खाद्यान्न बालीहरु र पशुतर्फ मौरीबाहेक भैँसी, बाख्राहरुमा बीमा गर्ने गरेको छ । उहाँका अनुसार कृषि बस्तुतर्फ बाली लगाउनुभन्दा अघि नै बीमा गरिसक्नुपर्छ ।

कारणबस असिनापानी, रोग, कीरा, ठुलो खडेरीलगायत विभिन्न प्रकोपका कारण बालीमा क्षति भएमा जम्मा लागतको ९० प्रतिशत क्षतिपूर्ती पाउने व्यवस्था छ । बीमा गर्दा पनि ७५ प्रतिशत खर्च सरकारले नै व्यहोर्छ भने २५ प्रतिशत मात्र कृषकहरुले व्यहोनुपर्र्छ ।

कर्णालीमा प्रायः नागरिकहरु कृषि तथा पशुपालन क्षेत्रमा नै आवद्ध भएपनि कृषिबाट आत्मनिर्भर बन्न सकिदैन भन्ने सोचाईका कारण पनि कृषिलाई व्यवसायिक रुपमा अगाडी बढाउन नसकिएको हो । अझै पनि कर्णालीका अधिकांश क्षेत्रमा व्यवसायिक भन्दा बढी परम्परागत खेति गर्ने प्रचलन छ ।

बीमाकर्ता एक कम्पनीका प्रमुख धीरेन्द्रबहादुर शाहीले कृषि तथा पशु बीमा कृषकहरुका लागि सहुलियत बनेको भएपनि जनस्तरमा बीमाको पहुँच अझै पनि पुग्न नसकेको बताउनुभयो ।