‘हाम्रो मालिका-हाम्रो पहिचान’

(मदन प्रसाद शर्मा )

प्रकृतिमा बरदान अथवा उपहार पाएको मेरो देश स्वर्गको एक हिस्सा हो । त्यसमा पनि कर्णाली प्रदेश । प्राकृतिक रुपमा सुन्दर, अनि धार्मिक, ऐतिहाँसिक र पर्यटनको उति नै सम्भावना बोकेको अनुपम स्थान हो । यस प्रदेशको प्राकृतिक सौन्दर्यताले सबैलाई लालयित बनाउँछ । यस प्रदेशमा रहेको विविधतायुक्त समाज र प्राकृतिक सौन्दर्यताको त बर्णन गरेर साध्यै छैन । जब सूर्यले धर्तीमा लाली छाँउछ तव देखिन्छ अलौकिक प्राकृतिक सौन्दर्यता, त्यसलाई डाह गर्छ आकाशले, अनि दक्षिणमा रहेको समथर भुभागले । समथर तराईको शीर बनेका सेताम्य हिमालको मनमोहक दृष्यले सबैको मन जितेकै छ । हिमालको शीर देखी कतै खोंचहरु छिचोल्दै पहाडको कुना कन्दराहरुबाट आफ्नै गतिमा बग्ने यहाँका नदीहरुले सबैलाई मात् नलगाएको भने पक्कै होइन । एकनास रुपले सलल… बगिरहने ति अग्ला-अग्ला नागबेली झरनाहरुले सबैको मन लोभ्याएकै छन् । स्थान अनुसार जतिजति पहाड चढ्यो यहाँका मानिसहरुको लवाई खुवाई पनि बेग्लै रहेको पाइन्छ । दक्षिण तिरको समथर भुभागले सुन जस्तै पहेला धानका बाला झुलाएको छ । सिङ्गो बस्तीलाई नै पुग्ने गरी धान फलाएको छ ।

यस प्रदेशमा बस्ती पिच्छे परक-फरक ऐतिहाँसिक र धार्मिक परम्परा रहेका छन् । प्रचार प्रसारको अभावमा यस प्रदेशमा रहेका विभिन्न धार्मिक, ऐतिहासिक र पर्यटकिय स्थलहरु पनि ओझेलमा परेका छन् त्यस्तै कर्णाली प्रदेशभित्र रहेका धेरै धार्मिक, ऐतिहासिक र पर्यटकिय स्थलहरु मध्ये एक हो मालिका बज्यै मन्दिर जो सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. ४ स्थित बुरुसे झरनाको ठिक उत्तरतर्फ रहेको सबैभन्दा अग्लो महाभारत पर्वत श्रीङ्खलामा अवस्थित छ, यो मन्दिर त्यस स्थान वरपरकै सबै भन्दा अग्लो लेकमा भएकोले यहाँबाट तल चिङ्गाड खोला बगिरहेको रमाईलो र सुन्दर दृष्य देख्न पाईन्छ, बादल र घामको लुकामारी संगै चल्ने सिरेठोले सबैको मन लोभ्याउने गर्दछ । मन छुने बतास, ठुलो पाटन हजारौँ फुलहरुको सुगन्ध र घना जंगलको बिचमा चराचुरुङ्गीहरुको गुन्जीने भाकासंगै ठाडो उकालोमा थकान नमानी रमाउदै भक्तजनहरु करिब ५८१ वटा सिंढी पार गरेर मात्र मालिका बज्यैको मन्दिर सम्म पुग्ने गर्दछन् । यस मन्दिर वरपरको प्राकृतिक सौन्दर्यतालाई हेरेर कोही कसैको पनि धित् मेटिदैन । आकाश छुन चुलिएका शुक्लशैलहरु अनि प्रकृतिले जटा फिजाएको यो ठाउँमा आकाशलाई हेरेर पुस्प पातहरुले प्रकृतिसंग लुकामरी पनि गरिरहेका हुन्छन् । मालिका बज्यैको मन्दिर, परापुर्व कालदेखि नै सबैको आस्थाको पबित्र धार्मिक स्थलको रुपमा छ । मालिका बज्यैको मन्दिर धार्मिक र ऐतिहाँसिक रुपले उत्तिकै परिचित पनि छ । यहाँ हरेक बर्ष जनै पुर्णिमाको अघिल्लो दिन मन्दिरमा धुमधाम पुजा लाग्ने गर्दछ ।

परापूर्व कालको कुरा हो बुरुसे झरनाको तलबाट धेरै मानिसहरु माथी लेकतिर जादै रहेछन् । सायद उनिहरु लेकमा लाग्ने कुनै मेलामा जादै गरेको भन्ने प्रचलन हालसम्म कायम रहेको छ । ति मानिसहरु साँझ नपर्दै माथी लेकमा पुग्नु पर्ने भएकोले एक सुरमा हिडिरहेको थिए ति मध्येका एक जना मानिसलाई तिर्खाले सताउँदा कतै पनि पानी नभेटिएको र निरास भएर पहाडमा अडेस लागी लामो सुस्केरा हाल्दै साह्रै पानी प्यास लागेको भनि पानी खोज्दै जाँदा  पहाडको भिताबाट बग्ने पखेरोमा पानी भेटिएपछी सबैजनाले प्यास मेट्ने गरी पानी पिएछन् । पानी पिएर हिड्नै लागेको बेलामा नजिकैको ओडारमा बसेकी साह्रै बृद्ध आमाले सोधिछन्, “बाबु तिमीहरु कता जान लागेका हौ ? यदि माथी लेकसम्म जाने हो भने मलाई पनि त्यहाँ सम्म पुर्‍याइदेऊ” भनि अनुरोध गरिन्, हेर्दा रोगी र फोहोर बस्त्र लगाएकी देख्दा कोसैले पनि उनलाई सहयोग गरेनन् । ती मानिसहरु मध्येकै सबैभन्दा अन्तिम मानिसलाई पनि उनले अनुरोध गरिछन् । त्यहि अन्तिमको मानिसले आमाले भनेको बचन खेर नफाली उँहाको चित्त नदुखाउने सोचले बृद्ध आमालाई आफ्नो पिठ्युमा बोकेर आमाले भनेकै स्थान मालिका लेखमा पुर्‍याई दिएछ । लेकमा बाक्लो जंगल र बस्नको लागि उपयुक्त ठाउँ समेत नभएकोले, आमाले ति मानिसलाई फेरी पनि भनिछन्, “बाबु यहाँ सम्म त ल्यायौ अब मलाई बस्नको लागि थोरै ठाँउ बनाइदेउ न” भनेपछी ती बृद्ध आमालाई बस्नको लागि लेकको घासे जंगल फाडेर थोरै ठाउँ बनाई फर्कने बेलामा बृद्ध आमाले सोधिछिन्, “बाबु तिमीलाई के चाहियो ? भन म तिम्रो मनोकामना पुरा गर्छु, किनकी तिमिले मलाई पनि ठुलो गुण लगाएका छौ ।” भनेपछी आफै हेर्दा रोगी र फोहोरी जस्तो देखोने यी आमैले मलाई के सहयोग गर्लिन र ? उसले भनेछ, “आमा तपाईको हालत यस्तो छ मलाई के सहयोग गर्न सक्नुहुन्छ र ?” फेरी ति आमाले भनिछिन्, “तिमि माग मात्र म तिम्रो मनोकामना पुरा गर्छु ।” उसलाई बिश्बास त लागेन तै पनि ऊ बिरक्त हुँदै आफ्नो जीवन चलाउने पेशा नै पशुबस्तु भएको र हाल अज्ञात रोगले सबै चौपाय जति मरेको बृतान्त बताउन नपाउदै ती बुढी आमाले गोठालोलाई भन्नु भएछ, “बाबु म तिमीलाई दाम्लो र किलोको लागी यो काठ दिन्छु यसलाई काँधमा राखेर पछी नफर्की आफ्नो गोठतिर जाउँ एकै चोटी तिमी तिम्रो गोठ नजिक पुगेर मात्र पछाडी फर्केर हेर्नु ।” भनेर ती आमा छिनभर मै बिलिन भइछन्, त्यो मानिस आश्वर्य मान्दै फर्किएछ अनी मनमा अनेकन कुरा खेलाउन थालेछ, के यो साँच्चिकै होला र ? अब म पुन: पशु चौपाय पालेर आफ्नो दैनिकीमा फर्कन सक्छु,होला के ति आमैले मेरा लागि केही दिन सक्लिन र ? यस्तै कुरा खेलाउदा खेलाउदै ऊ आफ्नो गोठ नजिक पुग्दा ति बृद्ध आमालाई सम्झेछ र पछाडी फर्केर हेर्दा सेती भैँसी (सेतो रंगको भैँसी) बाख्रा, पाठा, पाडा, बाछाको लावा लस्कर देखेपछी ऊ अत्तालिएर यती धेरै बस्तुभाऊ भन्दा आधा फर्किएर गएछन्, आएका केही गाई, भैसी पालेर ऊ आफ्नो दैनिकीमा फर्किएको भन्ने किमबदन्ती प्रचलनमा रहि आएको छ ।

मालिकामा लागेको मेलाको झलक ।

अब ऊ अत्यन्तै खुसी भई मनमनै सोच्न थाल्यो मैले बोकेर माथी लेखमा पुर्‍याएकि ति बृद्ध आमा कोही सामान्य महिला नभई अलौकिक शक्ती भएकी माता हुन जस्तो अनुभुत गर्न थाल्यो, तत्पश्चात ति मानिसले आफ्नो दैनिकी चलाउने भैँसी बरदान पाएपछी खुसी हुँदै, बरदान पाएकै तिथिमा मालिका लेखमा पुगी ति बृद्ध आमा बसेकै ठाउँमा मालिका बज्यैको मन्दिर स्थापना गरी हरेक बर्ष श्रावन शुक्लपक्षको पुर्णिमाका दिन अर्थात ऋषि तर्पणि (रक्षा बन्धन) मा मालिका बज्यैको पुजा आरधना गर्न थाल्यो बिस्तारै बिस्तारै यो घटना वरिपरी बस्ती बसेका गाउँलेहरुले थाहा पाएपछी ति मानिसले घटनाको सम्पुर्ण बृतान्त गाउँले हरुलाई बताईसके पछी सबैले सोही स्थान हरेक बर्ष आजकै तिथीमा मालिका बज्यैको धुमधाम पुजा गर्ने प्रचलन रहि आएको छ । विशेषगरी कृषि, पशु चौपाय, खेतीपाती, शिक्षा ,स्वास्थय सम्बन्धी समस्या र निसन्तान भएका मानिसहरुले सन्तान प्राप्ती होस वर्ष भरिका आफ्ना सबै दु:ख ,टाढा होउन, एक वर्षसम्म कुनै कष्ट भोग्न नपरोस भन्दै भजन कृतन गरी बत्ती बाली मनले चाहेको पुरा होस भनी आशिष माग्दै रातभरी जागराम बसी हजारौ मानिसहरुको जमातमा बाच्ने चाहानाका साथ,बिहानको उदाउँदो सुर्यको किरणसंगै नुहाई मालिका बज्यैको पुजा अर्चनाका साथै आफ्नो मन, बिचार भावना शुद्व बनाई मनोकानना पुरा होस भन्दै एकाग्रह भएर ध्यान गरी फुल, प्रसाद, अक्षता, धजा चढाएमा (बली बाहेक) मनोकाङ्क्षा पुरा हुने किमबदन्ती पनि कायम रहि आएको छ ।

यस दिन गरेको पुजाआजाले वर्षभरी कुनै कष्ट नहोस्, दु:ख भोग्न नपरोस्, सुख शान्ती होस्, कुनै दैविक घटनामा पनि मालिकाले रक्षा गरुन भनि गाई वा भैँसीको दुधको धार मालिका लाई चढाउने प्रचलन रहि आएको छ । यसदिन गरेको पुजा धार्मिक दृष्टकोणले पनि महत्वपुर्ण मानिन्छ । धर्म तथा संस्कृतिको संरक्षण सम्बर्द्वन र जर्गेना गर्नु हामी सबैको कर्तव्य तथा अधिकार  पनि हो । मनुष्य जीवन लिएर जन्मेको जन्म भुमी, जन्मदिने माता, कुलवंश धर्मको रक्षा गर्न सकिएन भने आफ्नो जिवनको सार्थकता रहँदैन । अत: बर्तमान अवस्थामा हामी सबै मिलेर धर्म र संस्कृति बचाउनको लागि  आ-आफ्नो क्षेत्रबाट बिशेष जोडदिनु पर्दछ । अन्त्यमा हामी वरपर रहेका तर संचार र बिकासको अभाबले प्रचारमा आउन नसकेका धार्मिक, ऐतिहासिक र पर्यटकिय स्थानहरुको पहिचान गराउन सके समृद्ध चिङ्गाडको सपना साकार हुने अपेक्षा गर्न सकिन्छ ।

–लेखक मदन प्रसाद शर्मा चिङ्गाड गाउँपालिका वडा नं. ३ सुर्खेत निवाशी हुनुहुन्छ ।