विपदबाट प्रभावितलाई तीन महिना पुग्ने खाद्यान्न उपलब्ध गराइने

सुर्खेत, १९ साउन (जागरण) । विपदबाट प्रभावित परिवारलाई तीन महिना खाद्यान्न उपलब्ध गराउने कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ ।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले बाढी पहिरोलगायतका विपदमा परेकाको परिवारका लागि तीन महिना खान पुग्ने खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले कर्णाली रैबारलाई बताउनुभयो । यस्तै प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएको परिवारलाई आवास निर्माणका लागि राहतस्वरुप प्रति परिवार एक लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
कर्णालीका विभिन्न जिल्लामा बाढी पहिरोमा परी धेरै जनधनको क्षति हुनुका साथै र घरबारविहीन भएका छन् ।
मन्त्री केसीले ‘प्राकृतिक विपदका कारण घरबारविहीन भएकाहरुलाई तत्काल आवास तथा खाद्यान्न उपलब्ध गराउने बताउनुभयो ।
कर्णाली प्रदेश सरकारले प्राकृतिक विपदमा परी मृत्यु भएका नागरिकका लागि २ लाख रुपैयाँको बिमा गरिसकेको छ ।