लकडाउनका कारण कर्णालीका होटेल व्यवसाय क्षेत्रमा करिब २ अर्बको नोक्सानी

पंख बहादुर शाही ।
सुर्खेत, १९ साउन (जागरण) । कोरोना महामारी पछिको लामो लकडाउनका कारण कर्णालीका होटेल व्यवसाय क्षेत्रले ठुलो नोक्सानी व्यहोरेको छ ।
लकडाउन शुरु भएयता पाँच महिनामा मात्रै प्रदेशको होटेल व्यवसाय क्षेत्रले करिब २ अर्ब बराबरको नोक्सानी व्यहोर्नुपरेकोे हो ।
चैत्र महिना देखि साउन महिनाको अवधि सम्म २ अर्ब बराबरको नोक्सानी भएको होटेल व्यवसाय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले जानकारी दिनुभयो ।
प्रदेश भर ठुला साना तथा मझौला गरेर २५ सय बराबर होटेलहरु रहेका छन् । जसमा ठुला होटेलहरु प्रदेशभर ३ सय बराबर रहेका छन् भने बाँकी २२ सय मझौला तथा साना होटेलहरु रहेका छन् ।
कोरोनाको प्रभावले सबैभन्दा धेरै क्षति ठुला होटेल व्यवसायका परेको भन्दै अध्यक्ष शाहीले करिब ३५ प्रतिशत साना होटलहरु विस्थापित हुने अबस्थामा रहेको कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार लकडाउन खुलेपनि अबस्था उस्तै रहेकाले होटेल क्षेत्रका अधिकाँश कर्मचारीहरुलाई काममा फर्कन समेत सकेका छैनन् ।
अहिले लकडाउन खुले सँगै सबै होटेल व्यवसायहरु सञ्चालन आएपनि ग्राहकहरु भने जान नसकेको उहाले बताउनुभयो ।
सार्वजनिक यातायता नखुलेको, हवाई जहाजहरु पुर्ण रुपमा सञ्चालनमा नआएको, र मान्छेहरु सहज रुपमा हिड्न सक्ने वातावतरण नभएकाले अबस्था उस्तै रहेको शाहीले बताउनुभयो । होटेलमा हुने कार्यक्रम सेमिनार गोष्टिहरु सञ्चालनमा नआए सम्म होटेलको कारोबार बढ्न नसक्ने शाहीको ठहर छ ।