जन्मउत्सव अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण

दैलेख धरमपोखरा, १९ साउन (जागरण) । बाजुराकी सन्तोषी शाहले आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । उहाले दैलेखको गुराँस गाउँपालिका भित्रका ६ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।
गुराँस गाउँपालिका वडा नम्बर ६ का २ जना, वडा नम्बर ७ का २ जना र वडा नम्बर ८ का २ जनालाई शैक्षिक सामग्रीहरु सहयोग गरेको शाहले बताउनुभयो ।
आर्थीक अवस्था कमजोर भएका विपन्न तथा जोखिममा परेका बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु झोला, कापी लगाएतका सामग्रीहरु सहयोग गरेको शाहको भनाई छ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको अनुगमन, मुल्यांकन, जवाफदेहिता र सिकाई (मिल) संयोजक समेत रहेकी शाहले जोखिममा परेका बालबालिकाहरुलाई केहि राहत प्रदान गर्नका लागि शैक्षिक सामग्री वितरण गरेको उल्लेख गर्नुभयो ।
गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली, वडाध्यक्षहरु हिमबहादुर ओली, पूर्णबहादुर ओली लगाएतको उपस्थितीमा सोमवार शैक्षिक सामग्री वितरण गरिएको हो ।
जनप्रतिनिधिहरुले सन्तोषीको प्रसंशा गरेका थिए ।