जिल्ला अस्पतालहरुलाई ५० शैयाको रुपमा विकास गर्ने कर्णाली प्रदेश सरकारको योजना

पंख बहादुर शाही ।
सुर्खेत, २३ (जागरण) । कर्णाली प्रदेश सरकारले जिल्ला अस्पतालहरुलाई ५० शैयाको अस्पतालको रुपमा विकास गर्ने तयारी थालेको छ ।
आम नागरिकहरुलाई जिल्लास्तरमै स्वास्थ्यको सहज पहुँच पु¥याउने उद्देश्यसहित विशेषज्ञ सेवा सहित अस्पतालको वृद्धी विकास गरिने भएको हो ।
त्यसका लागि चालु आर्थिक बर्षदेखि नै योजना कार्यान्वयनमा ल्याईने प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कर्णाली विगतदेखि नै स्वास्थ्य क्षेत्रमा पछाडी परेको भन्दै सामाजिक विकास मन्त्री दल रावले सरकारले दुर्गम क्षेत्रमा नागरिकहरुलाई आधारभुत तहसम्मको स्वास्थ्यको पहुँचमा जोड्ने योजना रहेको कर्णाली रैबारलाई बताउनुभयो ।
यस्तै, आयुर्वेद क्षेत्रलाई थप व्यवस्थित बनाउन आफुहरु लागेको भन्दै मन्त्री रावलले कर्णाली प्रदेशमा रहेका औषधीजन्य जडिबुटीलाई परिचालन गर्न सरकार केन्द्रीत रहेको बताउनुभयो । मन्त्री रावलले ५ बर्षको आफ्नो कार्यकालको समय जनतालाई अनुभुती हुने गरी स्वास्थ्य सेवाको विकास गर्ने बताउनुभएको छ ।
प्रदेश सरकारले शुरुवातीदेखि नै स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन हरदम लागेको भन्दै मन्त्री रावलले विगत दुई बर्ष प्रदेशका विभिन्न जिल्लाहरुका १ सय भन्दा धेरै महिलाहरुको ज्यान जोखिम हुनबाट बचाउन सरकार सफल भएको बताउनुभयो ।
विकट गाउँमा सुत्केरी हुन नसकेर अकालमा मृत्यु हुने अवस्थाको अन्त्य प्रदेश सरकारले गरेको भन्दै आफुहरुको काम अन्य सरकारहरुले पनि सिकेको बताउनुभयो ।
कोरोना भाइरस नियन्त्रणमा सरकार सफल भएको पनि मन्त्री रावलको दाबी छ ।