चार महिनामा कर्णाली प्रदेशमा एक सय पाँच वटा घरेलु हिंसाहरु

पंख बहादुर शाही ।
सुर्खेत, २५ साउन (जागरण) । लकडाउनपछि कर्णाली प्रदेशमा एक सय पाँच वटा घरेलु हिंसाहरु भएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्कअनुसार २०७६ चैत ११ देखी साउन १९ गतेसम्म प्रदेशभर एक सय पाँच वटा घरेलु हिंसाका घटना दर्ता भएका हुन् ।
यो अवधीमा सबैभन्दा धेरै ४९ वटा बलात्कारका घटनाहरु प्रहरीमा दर्ता भएका छन् भने १८ जनामा बलात्कार प्रयास भएको घटनाहरु भएका छन् ।
यस्तै, २३ वटा बहुबिवाहका उजुरी दर्ता हुँदा ५ वटा बालबिवाहका उजुरी परेको प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, २ वटा बोक्सीको आरोपका घटना भएका छन् भने एकजना बालिकामाथी यौन दुव्र्यवहार भएको उजुरी दर्ता भएको छ ।
यता, प्रदेश सरकारले भने विभिन्न हिंसाहरु रोक्न आफुहरुले थुप्रै योजना बनाएको जनाएको छ । कसैले कसैमाथी हिंसा गर्न नहुने भन्दै सामाजिक विकास मन्त्री दल रावलले सरकारले समाजका कुरिती रोक्न थुप्रै काम गर्दै आएको र त्यो प्रयाप्त भने नभएको बताउनुभयो ।