बलात्कार आरोपमा कालिकोटका वडाध्यक्ष जेल चलान

कालिकोट, २५ साउन (जागरण) । बलात्कार गरेको आरोपमा पक्राउ परेका कालिकोटका वडाध्यक्ष जेल चलान भएका छन् । खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदीश शाही बहिनी नाता पर्ने किशोरीलाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका हुन् ।
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले पुर्पक्षमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो ।
जबरजस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म कारागार चलान गरिएको कालिकोट जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताउनुभएको छ ।