पंख बहादुर शाही ।
सुर्खेत, ३० साउन (जागरण) । समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतले आफ्नो स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा खाद्यन्न सहयोग गरेको छ ।
स्थापना भएको २६ औँ बर्ष पुगेको अवसरमा ९ हजार बराबरको खाद्यन्न सामग्री मानव सेवा आश्रममा प्रदान गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका–१२ स्थित मानव सेवा आश्रममा ७५ केजी चामल, ६ केजी दाल, ४ प्याकेड नुन, १० केजी आलु, ५ लिटर तेल, स्वायविन ५ केजी, खुर्सानी, धनीया, लगायत ८ हजार नौ सय बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको स्याक नेपालका निमित्त निर्देशक रेशम चन्दले बताउनुभयो ।
कोभिड १९ का कारण सडकमा रहेका मानिसहरुलाई मानवआश्रमा राखिएकाले उनीहरुलाई केही छाक खान पुगोस भन्ने उद्देश्यका साथ खाद्यान्न सहयोग गरिएको उहाले बताउनुभयो ।
कोभिड १९ का कारण गत बर्षहरुजस्तै भव्य रुपमा स्थापना दिवस मनाउन नसकेको स्याक नेपालले आफ्नै कर्मचारी र कार्यसमितका सदस्यहरुसँग स्थापना दिवस मनाएको हो ।
आफ्नो स्थापना दिवसको अवसरमा बोल्दै स्याक नेपालका अध्यक्ष मिना तीवारी –शर्माले ‘अन्धकारलाई सराप्नु भन्दा एउटा वत्ति बाल्नु बेस’ भन्ने मुल नारा बोकेर स्याक नेपाल अगाडी बढेको बताउनुभयो ।
समुदायमा स्याकले विभिन्न संगठन विस्तार गरेर जन जागरण फैलाउँदै आएको भन्दै यसले समाजलाई गतिशिल बनाउने काम गरेको बताउनुभयो ।
यस्तै स्याक नेपालका सल्लाहकार तथा पुर्वअध्यक्ष पुर्णप्रसाद पौडेलले स्याक नेपालले समाजलाई मार्गदर्शनतर्फ उन्मुख गर्न महत्वपुर्ण काम गरेको भन्दै आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको प्रमुख अथिती समेत रहनुभएका वीरेन्द्र नगर–नगरपालिका–१२ का वडा अध्यक्ष लोक प्रसाद चालिसेले स्याक नेपालले स्थापना कालदेखि उठाएका सवालहरु अहिले राष्ट्रिय स्तरमा कानुनमा समावेश भएको बताउनुभयो ।
यस्तै स्याक नेपालका बरिष्ट समुदाय परिचालक उमासंकर आचार्यले आफ्नो स्थापना दिवसको पुर्व सन्ध्यामा कार्यालय परिसरमा दिप प्रज्वलन र सरसफाई गरिएको बताउनुभयो ।