कर्णालीका केही जिल्लाहरुमा निषेधाज्ञा जारी

सुर्खेत, १ भदौ (जागरण) । कोरोनाको संक्रमण बढ्न थालेपछि कर्णालीका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्न थालिएको छ ।
सरकारले अवस्था हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र पालिकालाई दिएसँगै कर्णाली प्रदेशका कतिपय जिल्ला र स्थानीय तहहरुलाई निषेधाज्ञा गर्न थालिएको हो ।
कोरोनाको बढ्दो संक्रमण र तीज पर्वको माहोललाई मध्यनजर गर्दै कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमबारदेखि निषेधाज्ञा जारी गर्न लागेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबारसम्म निषेधाज्ञाको आदेश जारी गरेको हो ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा कार्यरत विभिन्न व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा गर्नुपरेको भन्दै आज बिहान ६ बजेदेखि अत्यावस्यक बाहेक पूर्ण बन्द रहने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कर्णाली रैबारलाई बताउनुभयो ।
यस्तै मुगु सदरमुकाम गमगढीमा पनि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आजदेखि लागु हुनेगरी भदौ १५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अत्यावश्यक खाद्यवस्तुका पसल बिहान ६ देखि १० बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाउनेछन् ।
यता, रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा पनि बुधबारदेखि निषेधाज्ञा जारी छ । पहिलो सूचनाअनुसार निषेधाज्ञा आगामी मंगलबारसम्म जारी हुनेछ ।
मुसीकोट नगरपालिका–१ स्थित स्वास्थ्य सेवा कार्यालयदेखि खलंगा, सेरीगाउँ हुँदै शितलपोखरी, ३ नम्बर वडाको पिपलनेटादेखि सेरीगाउँ हुँदै ६ नम्बर वडा कार्यालयसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
आवश्यकता अुनसार निषेधाज्ञा थप्न सकिने प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताउनुभयो ।
यस्तै, जुम्लाको कनकासुन्दी गाउँपालिकाको पूर्वमा मालिकावोता, पश्चिममा विराट, उत्तरमा कालेकाँड लेख र दक्षिणमा गोठीज्यूला बजारमा साउन २२ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि निषेधाज्ञा लागू भएको छ ।
चन्दननाथ नागरपालिकाको वडा नम्बर १, ३ र ६ तथा तिला गाउँपालिका वडा नम्बर ४ ढिमकोट क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले साउन २५ देखि अर्को निर्णय नभएसम्मको लागि निषेधाज्ञा लगाएको छ ।