जिल्ला अस्पतालको डिपिआर सच्याउन माग

डोल्पा, १ भदौ (जागरण) । डोल्पामा स्थानीयले जिल्ला अस्पतालको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सच्याउन माग गरेका छन् ।
नयाँ बन्ने जिल्ला अस्पताल भवन माटोको गारो र जस्तापाता प्रयोग गरेर पुरानै शैलीको बनाउने गरी डिपिआर तयार पारिएपछि स्थानीयले त्यसको विरोध गर्दै नयाँ डिपिआर तयार पार्न माग गरेका हुन् ।
जिल्ला अस्पतालको नयाँ भवन निर्माणका लागि कर्णाली विकास सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७÷७८ मा १० करोड रुपैयाँ वनियोजन गरेको छ ।
नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकबाट पुरानो डिपिआर परिवर्तन गर्दै नयाँ डिपिआर तयार गर्न अनुरोधका साथै ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।
सरोकारवालाको बैठकबाट भएको निर्णय जिल्ला समन्वय समिति हुँदै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा पठाइने अध्यक्ष बुढाले बताउनुभयो ।
सघन शहरी तथा भवन निर्माण आयोजना जुम्लाका प्रमुख इन्जिनियर चन्द्र खड्काले अहिलेको अवस्थामा बनाइने सार्वजानिक संरचनाहरु आधुनिक तवरबाट निर्माण गरिनुपर्ने बताउँदै पुरानो डिपिआर तयार मन्त्रालयले नै गरेकाले सच्याउन पनि उतै माग गर्नुपर्ने बताउनुभएको छ ।