शंकर केसी ।
सल्यान, २ भदौ (रेडियो राप्ती) । सल्यानको कपुरकोट गाउँपालिकाले कोरोना परिक्षणको दायरा बढाउने निर्णय गरेको छ ।
आज बसेको गाउँपालिका स्तरिय विपद् ब्यवस्थापन समितिको बैठकले कोरोना परिक्षणको दायरा बढाउने निर्णय गरेको हो ।
समितिका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेनको अध्यक्षतामा बसेको बैठकले संकास्पद ब्यक्तिहरुको पिसिआर परिक्षण कार्यलाई तिब्रता दिने निर्णय गरेको छ ।
गाउँपालिकामा पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्दा आवश्यक पर्ने भिटिएम एक हजार भन्दा बढीको संख्यामा रहेकाले संकास्पद र प्रतिनिधीमुलक तरिकाले सबै क्षेत्रका मानिसहरुको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइने निर्णय भएको अध्यक्ष सेनले बताउनुभयो ।
यस्तै आउँदै गरेको हरितालिका तीज लगाएतका चाडवाडमा पिङ खेल्ने, चानगान तथा जमघट हुन प्रतिवन्ध लगाउने समेत निर्णय भएको उहाले बताउनुभयो ।
यसैबिच, सल्यानको कपुरकोट स्थित अदुवावाली अनुसन्धान कार्यक्रममा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटीभ देखिएपछी सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।
अदुवावाली अनुसन्धान कार्यक्रममा कार्यरत कर्मचारी, कामदार तथा जनप्रतिनिधी, ब्यापारि ब्यवशायी गरेर ८१ जनाको स्वाब संकलन गरेर सोमबार दाङमा कोरोना परिक्षणका लागि पठाइएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।