त्रिभुवन आर्मी बन्यो च्याम्पियन

सुर्खेत, १२ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रिमियर लिग (केपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारको छ ।
आज भएको फाइनलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही–११ लाई ३७ रनले पराजित गर्दै आर्मीले केपीएलको पहिलो सिजनको उपाधि हात पारेको हो ।
उपाधिसँगै आर्मीले तीन लाख रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ । उपविजेतामा सीमित भएको रुपन्देहीले नगद एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।
टस जितेर रुपन्देहीले पहिलो फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आर्मीको सुरुवात राम्रो नरहेपनि निर्धा्रित २० ओभरमा सात विकेट गुमाएर एक सय ३२ रनको मध्यमस्कोर मात्र बनाउन सक्यो ।
एक सय ३३ रनको लक्ष्य पछ्याउँदै ब्याटिंग गरेको रुपन्देहीले १७ दशमलव ५ ओभरमा अलआउट हुँदै ९५ रन मात्र बनाउन सक्यो ।
खेलको म्यान अफ दि म्याच आर्मीको विक्रम शोव हुनुभयो । प्रतियोगिताकाो म्यान अफ दि सिरिज रुपन्देहीका अलराउण्डर सन्दिप सुनार हुनुभयो । उहाँले नगद २५ हजारसहित ट्रफी प्राप्त गर्नुभयो । उत्कृष्ट ब्याट्सम्यान आर्मीका सागर पुन हुनुभयो । पुनले नगद दस हजारसहित ट्रफी प्राप्त गर्नुभयो । त्यसैगरी उत्कृष्ट बलर बनेका रुपन्देहीका कृष्ण कार्कीले पनि नगद दस हजारसहित ट्रफी प्राप्त गर्नुभयो ।
बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको कर्णाली प्रिमियर लिगको पहिलो सिजन जेठ ३ गतेदेखि सुरु भएको थियो ।
जसमा विभिन्न १० वटा टिमको सहभागिता रहेको थियो । यो प्रतियोगिता कर्णालीमा आयोजना गरिएको अहिलेसम्मकै सर्वा्धिक पुरस्कार राशीको प्रतियोगिता हो । हरेक वर्ष केपिएल आयोजना हुने प्रतियोगिताको संयोजक रेशम शाहीले जानकारी दिनुभयो ।