नन्द कठायत ।
सुर्खेत, ११ भदौ (जागरण) । कर्णालीका ग्रामीण क्षेत्रहरुका जनताले आधारभुत विकासको अनुभुती गर्न थालेका छन् । विगतमा शहरी क्षेत्रमा मात्र विकासका योजनाहरु संचालन हुने र त्यसको लाभ ग्रामीण क्षेत्रका नागरिकहरुले लिन नसक्ने अवस्थाको अन्त्य हुन थालेको हो ।
ग्रामीण क्षेत्रका नागरिकहरुले आधारभुत विकासमा समेत पछाडी परिरहेको बेला देश संघिय संरचनामा गएपछि गाउँगाउँमा आधारभुत विकास हुन शुरु भएका छन् ।
अहिले गाउँ गाउँमा स्थानीय सरकारहरु छन् । स्थानीय सरकार पुगेपछि विकट क्षेत्रमा पनि विकासका काम हुन थालेको भन्दै केही रुपमा विकासको अनुभुती हुन थालेको नागरिकहरु बताउछन् ।
स्थानीय तहका जनप्रतिनिधिहरुले अझै विकासका योजना बनाउने पूर्ण अधिकार नभएको भन्दै गाउँको विकासबिना समग्र विकास हुन नसक्ने बताएका छन् ।
उनिहरुले केन्द्रको अधिकार गाउँमा आउँदा समग्र विकास गर्न केही सहज भएपनि अझैपनि संविधानले दिएका अधिकार कार्यान्वन हुन नसकेको भन्दै स्थानीय तहहरुलाई अधिकार सम्पन्न गराए मात्र ग्रामीण क्षेत्रको विकास तिव्र हुने उनिहरु बताउछन् ।
डोल्पाको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले स्थानीय सरकार संचालनपछि नागरिकहरुले विकासको अनुभुती गर्न थालेको भन्दै त्यो पूर्ण भने नभएको बताउनुभयो । उहाँले केन्द्रीकृत व्यवस्थामा आधारभुत विकास समेत नभएको आफ्नो गाउँपालिकामा अहिले हरेक क्षेत्रको विकास तिव्र भइरहेको कर्णाली रैबारलाई बताउनुभयो ।
राष्टिय सडक सञ्जालले नछोएको हुम्लाको विकट नाम्खा गाउँपालिकाले पनि चिनको सिमाबाट गाउँपालिकालाई सडक सञ्जालमा जोडेको छ ।
पछिल्लो समय विकट ग्रामीण क्षेत्रहरुमा विकास हुन थालेको भन्दै गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर लामाले भौगोलीक क्षेत्रलाई मध्यनजर गरेर गाउँपालिकाले विकासका काम अगाडि बढाएको जानकारी दिनुभयो ।
ग्रामीण क्षेत्रको विकास बिना देशको विकास हुन नसक्ने भन्दै विज्ञहरुले स्थानीय सरकारहरुलाई अझै बलियो बनाएर ग्रामीण क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिने गरेका छन् । नेपालले सन २०३० सम्म हरेक क्षेत्रको विकास गरी दिगो विकास गर्ने लक्ष्य लिएको छ ।
