पछिल्लो अपडेटः कालिकोटमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो

कालिकोट, १५ भदौ (जागरण) । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ भने दुई जना घाइते भएका छन्। आइतबार बिहान आएको सुक्खा पहिरोले उक्त ठाउँका चार वटा घर पुरेको थियो ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरैले दिएको जानकारी अनुसार कालिकोट र जुम्लाको सीमामा रहेको नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेहरुमा नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय परेक शाही, उहाका ५ वर्षीय छोरा निराजन शाही, दुई महिनाको छोरा अक्कल शाही, ७ वर्षीया छोरी हिमा शाही रहेका छन् ।
यस्तै मृत्यु हुने अन्यमा सोही ठाउँका ३५ वर्षीय मानवीर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाई, उहाकी २५ वर्षीय श्रीमती छोइनु दमाई ६ वर्षीय छोरा गजेन्द्र दमाई, सुर्खेत भेरीगंगाका ४५ वर्षीय आइती खड्का, वीरेन्द्ननगर नगरपालिका इत्राम सुर्खेतका २३ वर्षीय अमृत थापा रहेका उहाले बताउनुभयो ।
पहिरोबाट पुन्या शाही र स्थानीय अर्जुन हमाललाई जीवितै उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । प्रहरीका अनुसार पहिरोमा पुरिएका सम्पूर्णको उद्धार भैसकेको छ ।