सुर्खेत, १५ भदौ (जागरण) । कर्णाली प्रदेशको राजधानीे सुर्खेतमा अब निषेधाज्ञाको विकल्पमा अन्य उपाय अपनाउनेगरी योजना बनाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
भिडभाड धेरै हुने प्रदेशकै ठुलो ठाउँको रुपमा रहेको सुर्खेतमा निषेधाज्ञा गर्दा व्यापार व्यवसायमा असर पुग्ने भन्दै त्यसको विकल्पमा अन्य उपाय अबलम्बन गर्ने योजना बनाइएको हो ।
यसअघि तिज पर्वको कारण भिडभाड हुन सक्ने भन्दै त्यसले कोरोनाको संक्रमण बढ्न सक्ने अवस्थालाई हेरेर निषेधाज्ञा लगाइएको भएपनि अब निषेधाज्ञाको विकल्पमा अन्य उपाय खोजिने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कर्णाली रैबारलाई बताउनुभयो ।
उहाले निषेधाज्ञा खुलाइएपनि कोरोना संक्रमणको जोखिम भने कायम रहेको भन्दै सचेत हुने आग्रह गर्नुभयो ।
अहिले पनि हिडडुल गर्दा नागरिकहरुको लापरवाही देखिएको भन्दै निषेधाज्ञा खोलिएको भएपनि केही सर्त भने कायम रहेको रेग्मीले बताउनुभयो ।
कर्णालीभरको सबैभन्दा धेरै किनमेल र व्यापार हुने ठाउँ सुर्खेत वीरेन्द्रनगर नै भएको भन्दै यसअघि निषेधाज्ञा जारी गरेर संक्रमणको जोखिमलाई कम गर्न सफल भएको दाबी गर्नुभयो ।
उहाले कोरोना महामारीको जोखिम कायम रहेको भन्दै स्वास्थ्य सतर्कता र प्रशासनको नियमलाई पालना गरेर आफ्ना दैनिकी काम गर्न अपिल गर्नुभयो ।
प्रशासनले नागरिककै स्वास्थ्यको लागि विभिन्न नीयम लगाएको भन्दै यसलाई अन्य अर्थमा नबुझ्न र आफ्नो स्वास्थ्यमा ख्याल गर्न उहाले आग्रह गर्नुभएको छ ।