सुर्खेत, १२ जेठ (जागरण) । कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका लागि करिब १५ अर्व बराबरको बजेट ल्याईने भएको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले यो प्रदेशका लागि १४ अर्व ६४ करोडको बजेट तयार पारिरहेको छ ।
प्रदेश सरकारका अर्थ मन्त्री प्रकाश ज्वालाले केन्द्र सरकारबाट प्राप्त हुने र प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त आम्दानीसमेत गरी १५ अर्व बराबरको बजेट ल्याउन लागेको जानकारी दिनुभयो । प्रदेश सरकारले आउँदो असार १ गते आगामी वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उक्त बजेटमा भौतिक पुर्वाधार विकासलाई प्राथमिकता दिईएको मन्त्री ज्वालाले बताउनुभयो ।
१४ अर्व ६४ करोड केन्द्रबाट सिलिङ आको छ, उहाँले भन्नुभयो, ‘त्यसमा प्रदेशको आन्तरिक स्रोत थप हुन्छ, बजेट १५ अर्व भन्दा बढी आउँछ ।’ पुर्वाधार विकासलाई प्राथमिकता दिएका छौँ, उहाँले थप्नुभयो,‘सडक, शिक्षा, खानेपानी, विद्युत्लाई प्राथमिकतामा राखेका छौँ । यसपटकको बजेटमा प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा राखिने मन्त्री ज्वालाले जानकारी दिनुभयो ।
यसैबिच, प्रदेश सरकारले भोली बस्ने संसद वैठकमा आगामी बजेटको सिद्धान्त, उद्देश्य र निति तथा प्राथमिकताका बारेमा प्रस्ताव पेश गर्ने भएको छ ।
भोलीको संसद वैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पुर्व बजेट छलफलका लागि बजेटको प्राथमिकता समेटिएको प्रस्ताव पेश गर्न लागिएको जानकारी दिनुभयो ।
भोली पेश हुने बजेटको प्राथमिकतामाथि पर्सी सोमबारदेखि छलफल गरिने उहाँले बताउनुभयो । छलफलमा सांसदहरुले दिएको सुझावका आधारमा नै निती तथा कार्यक्रम पेश गरिने मन्त्री ज्वालाले बताउनुभयो ।
भोलि बस्ने बैठकमा हिजो पेश भएको मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासम्बन्धी बनेको विधेयक–२०७५ र सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धि विधेयकमा सैद्धान्तिक छलफल हुने प्रदेशसभा सचिवालयका सचिव राजेश पौडेलले जानकारी दिनुभयो । संसद बैठक भोलि दिउँसो ३ बजे बस्दैछ ।