रुकुम पश्चिका स्थानीय तहहरुले विकासका कामहरु श्रम सहकारी मार्फत गराउँदै

नन्द कठायत ।
सुर्खेत, २६ भदौ (जागरण) । धेरैजसो स्थानीय तहहरुमा उपभोक्ता समितिहरुले गरेका विकास निर्माणका काम विवादित भइरहेका बेला रुकुम पश्चिमका स्थानीय तहहरुले भने उपभोक्ता समितिको विकल्पका रूपमा श्रम सहकारी मार्फत काम गराउने गरेका छन् ।
विकास निर्माणका काममा हुने अनियमितता तथा ढिलासुस्ती भएको भन्दै उपभोक्ता समितिको सट्टा श्रम सहकारीहरु मार्फत काम गराउन थालिएको हो । अहिले वडा तथा टोल स्तरमा हुने साना विकास निर्माणका काम श्रम सहकारीहरुले गरिरहेका छन् ।
स्थानिय सरकारले गर्ने सडक निर्माण, मर्मत, खानेपानी, भवनलगायत साना खालका विकास निर्माण आयोजना अहिले श्रम सहकारीमार्फत हुने गरेको जनप्रतिनिधिहरुले बताएका छन् ।
सुरुमा आर्थिक वर्ष २०७४÷०७५ देखि नै श्रम सहकारीमार्फत काम गराउन थालेको रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले गत आर्थिक वर्षमा मात्रै सात करोड ९ लाख ७९ हजार रकम श्रम सहकारीमार्फत खर्च गरेको नगरपालिकाका प्रमुख विशाल शर्माले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
उपभोक्ता समिति मार्फत हुने कामबाट जनतालाई रोजगारी दिन नसकिएको भन्दै उहाले समितिले गर्ने काममा अनियमितता बढ्न थालेपछि श्रम सहकारी मार्फत काम गराउन थालिएको बताउनुभयो ।
चौरजाहारी नगरपालिकामा अहिले उपभोक्ता समितिको विकल्पका रूपमा दुई हजार भन्दा बढी जनशक्ति श्रम सहकारीमा आबद्ध रहेको शमाले बताउनुभयो ।
यस्तै सानीभेरी गाउपालिकाले पनि गाउँपालिका भित्रका ११ वटै वडामा श्रम सहकारी मार्फत गत अर्थिक वर्षमा ४० प्रतिशत बजेट खर्च गरेको छ ।
गाउँ–गाउँमा सहकारी खोल्ने, स्थानीय नागरिकलाई सेयर सदस्य बनाउने र सबैलाई रोजगारी सिर्जना गर्न पाउने गरि कामहरु अगाडि बढाएको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।
अध्यक्ष पुनका अनुसार संघीय सरकारले बनाएको सार्वजनिक खरिद ऐनअनुरूप गाउँपालिकाले नियमावली बनाएर श्रम सहकारी मार्फत काम गराउन थालेको हो ।
यस्तै मुसीकोट नरपालिका, आठविसकाट नगरपालिका, र बाफीकोट गाउँपालिकाले पनि श्रम सहकारीमार्फत कामहरु गराउन थालेका छन् । यसरी काम गराउँदा धेरै नागरिकहरु रोजगारीमा जोडिएको त्यहा जनप्रतिनिधिहरुको भनाई छ ।