कर्णाली प्रदेशमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिदै

सुर्खेत, २८ भदौ (जागरण) । कर्णाली प्रदेशमा महिला बालबालिका र जेष्ठ नागरिकहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ ।
केही महिना अगाडीसम्म वैदेशिक रोजगारीमा गएर फर्किएकाहरुमा मात्र देखिन थालेको संक्रमण पछिल्लो संक्रमण समुदाय स्तरमा देखिन थालेको हो ।
अहिले महिला बालबालिका र जेष्ठ नागरिहरुमा समेत कोरोना संक्रमण देखिन थालेको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाले जनाएको छ ।
तथ्याङ्क अनुसार १० वर्षसम्मका ४ प्रतिशत, ५१ देखि ६० वर्षसम्मका ५ प्रतिशत र ६१ वर्ष माथिका २ प्रतिशतमा कोरोना संक्रमण देखिएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो ।
यस्तै ११ देखि २० वर्षभित्रका १५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ भने ४१ देखि ५० वर्षभित्रका नौ प्रतिशतमा कोरोना संक्रमण छ ।
यसरी तथ्याङ्कलाई केलाउँदा संक्रमण समुदाय स्तरसम्म फैलिन थालेको विज्ञहरुले बताएका छन् ।
तथापी प्रदेशमा हालसम्म फेला परेका कोरोना संक्रमित मध्ये अधिकांश युवा उमेरका रहेका छन् । हालसम्म कोरोना संक्रमण देखिएका मध्ये ४१ प्रतिशत २१ देखि ३० वर्षभित्रका युवाहरु छन् । यस्तै ३१ देखि ४० वर्षभित्रका २४ प्रतिशत छन् ।
कर्णालीका २१ देखि ४० वर्षभित्रका अधिकांस युवाहरु रोजगारीका लागि भारत अथवा स्वदेशमै पनि विभिन्न ठाउँमा रहने भएकाले युवा उमेर समुहमा कोरोना संक्रमण धेरै देखिएको कंडेलले बताउनुभयो ।
कर्णालीका कुल संक्रमित मध्ये ८४ प्रतिशत पुरुष रहेका छन् । भने १६ प्रतिशत महिलाहरु रहेका छन् ।