आर्थिक अवस्था कमजोर हुँदा उपचार नपाएर तड्पिदैँ पानसरा

टेकराज केसी ।
सुर्खेत, ३ असोज (जागरण) । दैलेख गुराँस गाउँपालिका वडा नम्बर ८ घ्युपोखरी निवासी पानसरा खड्काको खुट्टामा समस्या देखिन थालेपछि ६ महिना अगाडी उहाँ प्रदेश अस्पताल सुर्खेतमा आउनुभयो । केही समयको लागि औषधी लिनुभयो । तर निकोभन्दा खुट्टाको अवस्था जटिल बन्दै गयो । पुनः खड्का प्रदेश अस्पतालमै आउनुभयो । तर डाक्टले नेपालगञ्ज गएर उपचार गराउन सुझाव दिए । पानसरा भेरी अञ्चल अस्पतालमा भर्ना हुनुभयो । लामो समयसम्म उपचार गराइरहनुभएका उहाँको खुट्टाको समस्या निकोभन्दा बल्झिदै गयो ।
डाक्टरहरुले खुट्टाको क्यान्सर भएको भन्दै काठमाडौँ गएर उपचार गराउन सुझाव दिए ।
तर घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण उहाँ अहिले मर्नु न बाँच्नुको दोषधमा हुनुहुन्छ । ६ महिनासम्म उपचार गराँउदा आफुसँग भएको रकम सबै सकिएको उहाँका श्रीमान टेक बहादुर खड्का बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरमा भएको सबै रकम उपचारमा सकिएको छ, अब खाना खाने रुपैयाँ समेत छैन्, डाक्टरले श्रीमतीको खुट्टामा क्यान्सर भएको भनेर काठमाडौं लिएर उपचार गर्न भनेको छ । गरिबलाई रोग लाग्यो भने मर्नु बाहेक अरु उपाय हुँदो रहेन्छ ।” उहाले दुख व्यक्त गर्दै भन्नुभयो ।
उहाँले आफ्नी श्रीमतीको ज्यान बचाइदिन सहयोगी मनहरुलाई गुहार गर्नुभएको छ । पैसाको अभावमा उहाँ केहि दिनदेखि तड्पी रहनुभएको छ । डाक्टरहरुले भने तत्काल काठमाडौं गएर उपचार थाल्न भनेको छ ।
उहाले भन्नु्भयो, “मसँग एक रुपैयाँ पनि छैन्, यहाँको डाक्टरले तत्काल काठमाडौं गएर उपचार थाल्नुपर्ने नत्र अझै जटिल समस्या आउने बताएका छन् । तर मसँग जाने गाडीभाडासमेत छैन् ।”
“गरिबको लागि न त सरकार हुँदो रहेछ, नत आफन्त ।” उहाँले दुखेसो गर्नुभयो । “सबै ठाउँबाट मलाई अहिले सहयोग चाहिएको छ, तर मैले सहयोग पाएको छैन् ।”
उहाले देश विदेशमा रहनुभएका सहयोगी मनहरुलाई सहयोग गरी आफ्नो श्रीमतीको ज्यान जोगाइदिन अपिल गर्नुभएको छ । उहासँग भएको ३ लाख रकम अहिलेसम्मको उपचारमा सकिएको छ । उपचारको लागि ५ लाख रकम अहिले उहालाई आवश्यकता रहेको छ ।
सहयोग गर्न चाहाने जोकोहीले पनि उहाँका आफन्त भानुभक्त खड्का र अम्बर बहादुर खड्कालाई सम्पर्क गर्न सक्नु्हुने छ । सम्पर्क नम्बर ९८५८०६४५८६ र ९८५८०५१६३८ रहेको छ ।