हुम्लाको लिमी क्षेत्रमा नेपाली दुइ किलोमिटर भूमि अतिक्रमण

हुम्ला, ६ असोज (जागरण) । चीनले हुम्लाको लिमी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भवन निर्माण गरेको पाइएको छ ।
दुई देशको सिमानाभन्दा करिब दुई किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन निर्माण गरेको हो ।
नेपाली भूमी लिमीको लाप्चा बगरमा चीनले नौ वटा भवन निर्माण गरेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
भवन निर्माण भएको ठाउँभन्दा करिब दुई किलोमिटर अगाडि डाँडामा १२ नम्बर सीमास्तम्भ रहेको छ । तर त्योसँगै रहेको ११ नम्बर सीमास्तम्भ भने हराएको सहायक उहाको भनाई छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा अतिक्रमित भुमीको अनुगमन गरेर फर्किएको छ ।
अनुगमन टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्ष लगायत छन् ।
यसअघि २०६६ सालमा पनि सोही ठाउँमा चिनियाँ पक्षले तीनवटा भवन निर्माण गरेको र पछि विरोध भएपछि निर्माण कार्य रोकिएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताउनुभयो ।
सो क्षेत्र नेपाली भूभाग भएपनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न नदिएको स्थानीयको गुनासो छ । त्यहाँ चिनियाँ सुरक्षाकर्मीका गाडी भने ओहोरदोहोर गरिरहहेका छन् ।