सुर्खेत, ६ असोज (जागरण) । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को कारणले लामो समय सम्म बन्द रहेका विद्यालयहरु खुल्न थालेका छन् ।
पछिल्लो समय भाइरस संक्रमणको त्रास कम हुँदै गए पछि कर्णालीका स्थानीय तहले विद्यालय सञ्चालमा ल्याइ अध्यापन गराउन थालेका हुन् ।
केहि स्थानीय तहका विद्यालयहरुले बैकल्पिक शिक्षा प्राणाली लागु गरेर पठन–पाठन सुरु गरेका छन् भने केहिले कक्षा कोठामा नै सामाजिक दुरी कायम गरेर विद्यालय सञ्चालन थालेका हुन् ।
दैलेखको भगवतीमाई गाउँपालिकाले असोज ४ गते बाट विद्यालयमा पठनपाठन शुरु गरेको छ ।
कोरोना संक्रमितको संख्या घट्दै गएर शुन्य अवस्थामा पुगे पनि विद्यालय सञ्चालन हुन नसकेको भन्दै अभिभावकको चर्को दवाब पछि गाउँपालिकाले विद्यालय सञ्चालन गरेको गाउँपालिकाका सुचना अधिकारी प्रेमबहादुर खड्काले बताउनुभयो ।
यस्तै कालिकोटका विभिन्न स्थानीय तहले पनि विद्यालय सञ्चालन गरेका छन् । कालिकोटको पचालझरना गाउँपालिकाले असोज एक गतेबाट नै औपचारिक रूपमा विद्यालयमै पठनपाठन सुरू गरेको हो ।
गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले यो भन्दा पहिले टोल टोलमा अनौपचारिक रूपमा पठनपाठन भएपनि असोज एक गतेबाट औपचारिक रूपमा गाउँपालिकाका सम्पूर्ण विद्यालयको पठनपाठन सुरु गरिएको जानकारी दिनुभयो ।
कालिकोटकै तिलागुफा नगरपालिकाले पनि पठन पाठन सुरु गरेको जानकारी दिएको छ । यस्तै सुर्खेतको चौकुने गाउँपालिकाले यस अघि नै टोल टोलमा विद्यार्थीहरुलाई टोल शिक्षा सुरु गरेको छ ।
चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले टोलशिक्षा विद्यालय संचालनको पूर्व तयारी भएको र केहि दिनबाट नै विद्यालयमा नै पठन–पाठन सुरु गर्ने तयारी भएको बताउनुभयो ।
यस्तै सल्यानको दार्मा गाउँपालिकाले पनि टोल सिकाइ केन्द्रमार्फत विद्यार्थी अध्ययन अध्यापन गराउँदै आएको छ । कोरोना भाइरसका कारण विगत पाँच महिनादेखि शिक्षण संस्था बन्द भएपछि गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्फत पठन पाठन शुरू गरिएको गाउँपालिकाका अध्यक्ष नीम बहादुर केसीले बताउनुभयो ।