कर्णालीका चार जिल्लाहरुमा औद्योगिक ग्राम स्थापना गरिँदै

पंख बहादुर शाही ।
सुर्खेत, ७ असोज (जागरण) । कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्ष देखि कर्णालीका चार ओटा जिल्लाहरुमा औद्योगिक ग्राम स्थापनाको तयारी थालेको छ ।
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले सुर्खेत, दैलेख, जाजरकोट र कालिकोटमा औद्योगिक ग्रामको लागि पुर्वाधार विकासको काम थालिनी गर्न लागिएको हो ।
अन्य पाँच जिल्लामा औद्योगिक ग्रामकै लागि सम्भाव्यता अध्यनन गर्नेगरी कार्यक्रम बनाइएको मन्त्रालयका प्रवक्ता शेर बहादुर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार यी विभिन्न कार्यक्रम सञ्चालन गरी प्रदेशका करिब २ हजार पाँच सय बराबर युवाहरुलाई उद्यमशिलतामा जोडिने छ ।
उनीहरुलाई शिप विकास तालिम, प्रविधि हस्तान्तरण गरी करिब १० लाख श्रम दिन बराबरको रोजगारीको व्यवस्थापन गरिने प्रवक्ता श्रेष्ठले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
प्रदेश सरकारले युवाहरुलाई उद्यमशिलतामा जोड्ने भन्दै उद्यमशिलताका कार्यक्रमहरु अघि बढाएको बताउँदै आएको छ । तर कार्यान्वयन भने हुन सकिरहेको छैन् ।
कर्णाली प्रदेशमा औद्योगिक विकासलाई प्रमुखताका साथ राखिने प्रदेश सरकारले बताउँदै आएपनि अहिलेससम्म प्रदेशमा ठुला उद्योगको संख्या शुन्य रहेको छ ।
प्रत्येक एक बर्षको अवधिमा प्रदेशभर करिब ३ हजार देखि ४ हजार सम्मको दरमा साना तथा लघुउद्यम दर्ता हुने गरेको मन्त्रालयको तथ्याङ्क छ ।
तर, अहिले सम्म आर्थिक लाभ र ठुलो मात्रामा रोजगारी सृजना गर्न सकिने खालका उद्योगहरु कर्णालीमा स्थापना भइनसकेको मन्त्रालयले बताएको छ ।
स्थानीय कच्चा पदार्थमा आधारीत उद्योगहरुको पर्वद्धन गर्ने, जडिबुटी विकास र ब्राडिङ् गर्ने कार्यक्रम गरिने छ ।