हुम्लाको लाप्चा बगर आफ्नो भएको चिनको दाबी

हुम्ला, ७ असोज (जागरण) । हुम्लाबाट स्थलगत अध्यनका लागि गएको नेपाली टोलीसामू चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेको छ ।
नेपाली भूमि अतिक्रमण गरेर संरचना बनाएको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा टोली स्थलगत अध्यनमा गएको थियो । टोलीसँगै गएका नाम्खा गाउँपालिका, हुम्लाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चिनियाँ पक्षले आफ्नै भूमि भएको दाबी गरेको हो ।
अध्यक्ष तामाङका अनुसार नेपाली टोली पुगेपछि चिनियाँ प्रहरी र सेनालाई खबर गरेको थियो । एउटा ट्यांकर, ट्रक र जिपमा पीपीई सेट लगाएर आएका चिनियाँ सैनिकले माइकको प्रयोग गरेर नेपाली पक्षलाई यो भूमि चीनको भएको र कुनै विषयमा वार्ता गर्ने भए सीमा बिन्दुमा जान प्रस्ताव गरेको थियो ।
चिनियाँ पक्षले भनेको सीमा भवनहरु बनेको स्थानबाट नेपालतर्फ एक किलोमिटरमा पर्छ । गाउँपालिका अध्यक्षका अनुसार १२ नम्बरको पिल्लर लाप्चामा छ, तर ११ नम्बरको पिल्लर भेटिएको छैन ।
११ नम्बरको पिल्लर पत्ता नलागेसम्म चिनियाँ पक्षले भवनहरु बनाएको क्षेत्र कसको हो भन्न नसकिने उहाँले बताउनुभयो । यद्यपि भवन बनेको भन्दा साढे २ किलोमिटर उत्तरतिर नेपाल पक्षले बाटो खनेकाले उपभोगका हिसावले त्यो भूमि नेपालको भएको नेपाली पक्षले बताएको छ ।
नाम्खा गाउँपालिका–६ लालुङ्जोङमा रहेको स्थानमा चीनले केही वर्ष पहिले दुईवटा भवन बनाएको थियो । तर, यो वर्ष ११ वटा भवन बनाएर पर्खालसमेत लगाएको पाइएको छ ।