पंख बहादुर शाही ।
सुर्खेत, ९ असोज (जागरण) । लकडाउनका कारण लामो समयपछि केही स्थानीय तहका विद्यालय संचालन गरिएपनि विद्यार्थीहरुमा कोरोनाको त्रास कायम हुँदा पढाइमा ध्यान केन्द्रीत गर्न नसकिएको विद्यार्थीहरुले बताएका छन् ।
लामो समयपछि विद्यालय जाँदा विद्यार्थीहरुले विगतमा अध्यन गरेका विषय पनि बिर्सिएको भन्दै अहिले पढाइभन्दापनि कोरोनाको त्रास रहेको बताएका हुन् ।
दैलेखको पश्चिम क्षेत्रमा पर्ने चामुण्डाबिन्द्रासैनि नगरपालिका–३ स्थित चामुण्डा माध्यामिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा वसना शाहीले विद्यालय गएपनि पढाइभन्दा कोरोनाको डर लाग्ने गरेको कर्णाली रैबारलाई बताउनुभयो । …आवाज…
उहाँ मात्र हैन् कर्णालीका अन्य सामुदायिक विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरुले पनि यस्तै समस्या सुनाउने गरेका छन् ।
विद्यार्थीहरुलाई शिक्षकहरुले ढुक्कले आउन आग्रह गरेपनि अविभावक तथा विद्यार्थीहरुमा कोरोनाकै त्रास रहेकाले केही विद्यार्थी विद्यालय नआउने समेत गरेका छन् ।
यता, शिक्षहरुले भने करिब ७ महिना पछि विद्यालयमा प्रवेश गरेका विद्यार्थीहरुले ढुक्क सँग पढाइमा ध्यान केन्द्रित नसकेको भन्दै शुरुमा कोरोनाबाट हुने असरका विषयमा जानकारी दिई ढुक्क बनाउन आवश्यक रहेको बताएका छन् ।
विद्यार्थीहरुमा भने कोरोनाको त्रास कायम रहेको दैलेख गुराँस गाउँपालिका वडा नम्बर ८ मालिका मावीमा अध्यापन गराउँदै आउनुभएका शिक्षक जनक ओलीले बताउनुभयो ।
दैलेखकै चामुण्डा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीरकबहादुर शाहीले लामो समयदेखि विद्यार्थी घरमा बसिरहँदा अल्छिपना र नकरात्मक सोच पलाएको बताउनुभयो ।
यस्तै, दुल्लु नगरपालिका–१३ को सुर्यौदय माध्यामिक विद्यालयले कक्षा सञ्चालन गएको आइतबार देखि सञ्चालन गरेको भएपनि मास्क, सेनिटाइजरको अभाव भएको प्रधानाध्यापक राजेन्द्र प्रसाद लम्सालले बताउनुभयो ।
यता, कालिकोट पचालझर्ना गाउँपालिकाको वडा नम्बर ३ को जनता मावीमा अध्यापन बनाइरहनुभएका रती रोकायाले पनि विद्यार्थीहरुले कोरोनाको डरले ध्यान केन्द्रीत गर्न नसकेको बताउनुभयो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ५ का भुपेन्द्रबहादुर शाहीले आफ्ना बालबालिकालाइ विद्यालय पठाउने गरेको भएपनि पहिले जस्तो रुचि आफ्ना बालबालिकामा नभएको बताउनुभयो ।
सरकारले संक्रमण जोखिम कम भएका विद्यालयहरु संचालन गर्न स्थानीय सरकारहरुलाई जिम्मा दिएपछि अधिकांस स्थानीय तहले विद्यालय संचालन शुरु गरेका छन् ।