काठमाडौं, ९ असोज (जागरण) । शनिबारसम्म धेरै ठाउँमा भारी बर्षा हुने मौसमविद्ले बताएका छन् ।
भारतको मध्य प्रदेशको पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्र उत्तर पूर्व सरिरहेकाले नेपालका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसकै प्रभावले मंगलबार बेलुकीदेखि नै झरी परेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
शनिबारसम्म नै देशभरिकै ठुलो पानी पर्ने उहाले बताउनुभयो । शनिबार दिउँसोसम्म नै धेरै ठाउँमा ठूलो पानी पर्ने र केही ठाउँमा निकै ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम छ ।
पर्सि शनिबार बेलुकीदेखि बिस्तारै पानी पर्ने क्रम कम हुँदै जाने पनि उहाँले बताउनुभयो । तर हल्कादेखि सामान्य वर्षा भने अझै केही दिन हुने संभावना छ ।
शनिबार पनि प्रदेश १ र २ का थोरै ठाउँमा भने ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् मानन्धरको भनाइ छ ।
यो वर्ष मनसुन सकिने बेलामा झन् सक्रिय भएको छ । सामान्यतयाः सेप्टेम्बर २३ मा नेपालबाट मनसुन बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिलै बाहिरिने गरेको छ ।