तेह्र नम्बर सीमा स्तम्भको निरक्षणमा गयो नेपाली टोली

खड्क सुनार ।
मुगु, ११ असोज (जागरण) । मुगुसँग जोडिएको नेपाल र चीन सीमाना छुट्टाउने १३ नम्बर सीमा स्तम्भको स्थलगत निरीक्षणका लागि मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीसहितको एक टोली त्यसतर्फ गएको छ ।
चीनसँग जोडिएको हुम्लाको ११ नम्बर स्तम्भको खोजबिनबारे सार्वजनिक टिकाटिप्पणीपछि मुगु जिल्लामा पर्ने १३ नम्बर सीमा स्तम्भबारे जानकारी लिन सरकारी टोली त्यसतर्फ गएको हो ।
टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी ज्ञवाली, मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा, शसस्त्र प्रहरी, नेपाल प्रहरीका प्रतिनिधिसहित १४ जना छन ।
टोलीले सीमा क्षेत्रका समस्याबारे चिनियाँ अधिकारी र स्थानीयसँग छलफल गर्ने भएको छ । सीमामा रहेका स्तम्भको अवस्था के छ , कति छन् ? के भईरहेको छ भन्ने विषयमा अनुगमन समेत गरिने प्रमुख जिल्ला अधिकारी अधिकारी कृष्ण कुमार निरौलाले बताउनुभयो ।
उहाका अनुसार अध्ययनपछि टोलीले सीमा स्तम्भ बारे प्रतिवेदन पेश गर्ने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । मुगु–चीन सीमानामा १३ नम्बरको सीमास्तम्भ गाडिएको छ ।
टोलीले तिब्बती प्रतिनिधिसँग छलफल गरेर सीमा सुरक्षाबारे आवश्यक छलफल गर्ने छ ।
यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत् हुम्लाको नाम्खामा सीमा अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली सदरमुकाम सिमीकोट फर्किएको २४ घन्टा पुगिसक्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएकामा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
कांग्रेसले नेपालको सार्वभौमिकता र सीमासम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा अविलम्ब वास्तविक विवरण सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न सरकारसँग माग गरेको छ ।