स्थानीय तहका काम जिल्ला सदरमुकामबाट हुँदै

सुर्खेत, १२ असोज (जागरण) । कर्णालीका केही स्थानिय तहहरुको काम अझै पनि सदरमुकामबाट नै हुने गरेको छ । हुम्ला, डोल्पा, मुगु र जाजरकोटका केही स्थानीय तहको काम सदरमुकामबाट हुने गरेको हो ।
स्थानीयले वडा कार्यालयको सेवा लिन र सामान्य सिफारिस बनाउन पनि जनप्रतिनिधि र कर्मचारी खोज्दै सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।
डोल्पाका शे–फोक्सुण्डो, डोल्पोबुद्ध र काइके गाउँपालिकाको सबै काम सदरमुकाम दुनैबाट हदै आएको छन् ।
गाउँपालिकाको केन्द्रमा कर्मचारी जान नसक्ने भएकाले दुनैमा कार्यालय खोलिएको शेफोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसीतुन्डुप गुरुङले बताउनुभयो ।
यस्तै हुम्लाका नाम्खा, अदानचुली र सर्केगाड गाउँपालिकाका कार्यालय सुनसान हुने भएकाले स्थानीयवासी जनप्रतिनिधि र कर्मचारी खोज्दै सदरमुकाम सिमकोट पुग्ने गरेका छन् ।
दुर्गमका कर्मचारी मात्र होइन, वडाध्यक्ष पनि सदरमुकाममै सम्पर्क कार्यालय खोलेर बसेका छन् । जाजरकोटको जुनीचाँदे गाउँपालिकले पनि सदरमुकाम खलंगामा सम्पर्क खोलेको छ ।