सुर्खेत, १५ असोज (जागरण) । कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर हरी सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डाक्टर सापकोटाको उपचारको क्रममा बाकेको नेपालगञ्जमा आज दिउँसो मृत्यु भएको हो ।
प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा डा. सापाकोटालाई गत भदौ ३० गते कोरोना पोजेटिभ भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
भदौ ३१ गतेदेखि कोभिड अस्पताल कालागाउँ बसेका सापकोटालाई थप उपचारको लागि यही असोज २ गते भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको थियो । उहाँको उपचारको क्रममा आज दिउँसो ३ बजेतिर मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
डाक्टर सापकोटाको निधनप्रति दुःख व्यक्त गर्दै स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डाक्टर रविन खड्काले कोभिडको संक्रमणबाट हामीले हाम्रा अभिभावक गुमाएको सामाजिक सञ्जाल फेसबुकमा लेखेख्नुभएको छ ।
यस्तै जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार मंगलबार घरमै मृत फेला परेकी ३५ वर्षीया एक महिलामा कोरोना पुष्टी भएको छ ।
भेरीगंगा नगरपालिका–१ स्थायी ठेगाना भएकी महिला श्रीमानसँगै वीरेन्द्रनगर–११ पिपिरामा बस्दै आउनुभएको थियो ।
जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेका अनुसार पोष्टमार्टम अघि कोरोना परीक्षण गरिएकोमा बुधबार रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । उहाँका अनुसार एकै दिन श्रीमान–श्रीमतिको मृत्यु भएको थियो ।
कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको हो ।