कर्णाली नागरिकको सुझावः विकास निर्माणका काममा आलटाल नगर

टेकराज केसी ।
सुर्खेत, २१ असोज (जागरण) । कर्णालीका स्थानीयले विकास निर्माणका काममा ढिलासुस्ती नगर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
कर्णाली रैबारसँग कुराकानी गर्दै उनिहरुले विकास निर्माणका काम समयमै नसक्दा बजेट फ्रिज हुने गरेको भन्दै जनताले विकासको अनुभुती गर्न नपाएको बताएका हुन् ।
सरकार संचालन गरिरहेका व्यक्तीहरुले आफ्ना कार्यकर्ता पालनपोषणमा लाग्दा विकासका काममा ढीलाससस्ती र गुणस्तरहिन भएको उनिहरुको भनाई छ ।
दैलेख दुल्लु नगरपालिकाका सर्वा कुमार योगीले सरकारका प्रतिनिधि कार्यकर्ता पोष्नेमा केन्द्रीत हुँदा विकास निर्माण काम समयमै नसकिएको बताउनुभयो ।
उहाले काम गर्ने कर्मचारी र जनप्रतिनिधि कमिसनको खेलमा लाग्दा समेत गतिलो विकास हुन नसकेको आरोप लगाउनुभयो ।
दैलेखकै अर्का स्थानीय कमला पोख्रेलले पनि गाउँ गाउँमा सरकार पुग्दा समेत जनताले विकासको अनुभुती गर्न नसकेको भन्दै व्यवस्था मात्र परिवर्तन भएर केही नहुने बताउनुभयो ।
उहाले विकास निर्माणका काम शुरु गर्नु अगाडी नै सरकारी नियम कडा बनाउनुपर्ने भन्दै राजनितिक भागभण्डामा विकासलाका कामलाई नलिन आग्रह गर्नुभयो ।
यता, कर्णाली प्रदेश सरकारले भने विगतका बर्षहरुमा संरचनागत कठिनाईका कारण विकास निर्माणका काममा केही ढिलाई भएको भएपनि यो बर्षदेखि त्यस्तो नहुने बताएको छ ।
प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयका प्रशासन योजना तथा मुल्याकंन महाशाखाका सिडिइ गोपाल शर्माले गत बर्षका क्रमागत योजनाको काम संचालन भइरहेको कर्णाली रैबारलाई बताउनुभयो
उहाले यो बर्षको काम दशै लगत्तै शुरु हुने र काम समयमै सक्ने योजना मन्त्रालयले बनाएको बताउनुभयो ।
कर्णालीमा संघिय सरकार मातहतका विकास निर्माणका थुप्रै योजना अलपत्र अवस्थामा छन् । यसले नागरिकहरुमा निरासा जगाएको छ ।