जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

टीका विश्वकर्मा ।
जाजरकोट, २२ असोज (जागरण) । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको हो भने एक जना बेपत्ता छन् । त्यस्तै एक जना घाइते भएका छन् ।
जाजरकोट सदरमुकाम खलङ्गाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्रतर्फ गइरहेको भे १ ज ९३५ नम्बरको यात्रुवाहक जीप गाउँपालिका १ को औल खोला भीरमा दुघर्टना भएको हो ।
जाजरकोट प्रहरीका अनुसार मृत्यु हुनेमा गाँउपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षीय कृतिबहादुर शाही, लालबहादुर बुढा र त्यही वडाका स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाही हुन् ।
त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र गर्खाकोट मटेलाकी २५ वर्षीया मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर श्रेष्ठले जानकारी दिनुभयो ।
एक जना भने मजकोट खोलामा बेपत्ता भएको अनुमान गरिएको छ, उहाको खोजी कार्य जारी रहेको छ ।
दुर्घटनामा घाइते भएका वडा नम्बर ११ का नरबहादुर बुढालाई उपचारका लागि जिल्ला सुर्खेत पठाइएको छ । औल खोला भीरबाट खसेको गाडी करिब तीन सय मिटर तल रहेको मजकोट खोलामा परेको थियो ।