कोरोना महामारीः के फेरी लकडाउन हुन्छ ?

सुर्खेत, २३ असोज (जागरण) । कर्णाली प्रदेशका अन्य जिल्लाहरुको तुलनामा सुर्खेतमा तिव्र रुपमा कोरोना संक्रमित बढेको भन्दै वीरेन्द्रनगर नगरपालिकाले फेरी लकडाउन गर्न सक्ने तर्फ मनस्थिति बनाएको छ ।
सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले जिल्लाका अन्य पालिकाहरुको तुलनामा वीरेन्द्रनगरमा बढी संक्रमित भएको पाइएको छ ।
संक्रमितको संख्या बढ्दै गए फेरी लकडाउन गर्न सकिने मनस्थितिमा स्थानीय प्रशासन नगरपालिका पुगेको हो ।
वीरेन्द्रनगर नपालिकाका उप–प्रमुख मोहनमाया ढकाल तीजमा अपनाइएको विधि नै अपनाउने की भन्ने छलफल भएको बताउनुभयो ।
लकडाउन कहिलेबाट गर्ने र कति दिन गर्ने भन्ने निर्णय भइसकेको भन्दै ढकालले दशैँमा आफन्त–आफन्तहरुबिच सम्पर्क बढ्ने र त्यसले स्थिति भयावह हुनेतर्फ आफुहरु सचेत रहेको बताउनुभयो ।
दशैँ आउन अझै केही दिन बाँकी रहेकाले घटस्थपनासम्मको संक्रमण दरलाई औल्याएर लकडाउन गर्न सकिने उहाले बताउनुभयो ।
यता, जिल्ला प्रशासन कार्यालय सुर्खेतले भने संक्रमणको दर बढेपनि तत्कालै लकडाउन नै गर्नुपर्छ भन्ने निर्णय नपुगेको बताएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पालिकाहरुले गर्ने निर्णयमा स्थानीय प्रशासनले पूर्ण सहयोग गर्ने कर्णाली रैबारलाई जानकारी दिनुभयो ।