कर्णाली प्रदेशका मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव

सुर्खेत, २५ असोज (जागरण) । कर्णाली प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपाका १८ सांसदहरुले नै अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीको कार्यशैली राम्रो नभएको, जनअपेक्षा अनुसार काम विकास निर्माणका काम नभएको भन्दै सांसदहरुले शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
सांसदहरुले नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई उक्त प्रस्ताव बुझाएका छन् ।
नेकपाको संसदीय दलको विधान अनुसार अविश्वासको प्रस्ताव दर्ता गरिएको नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज समेत रहेका सांसद यामलाल कँडेलले बताउनुभयो ।
नेकपाका ३३ जना सांसद छन् । जसमध्ये एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसद छन् । ३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको नेता कँडेलले जानकारी दिनुभयो ।
प्रस्ताव दर्ता भएसँगै कर्णालीमा मुख्यमन्त्री परिवर्तन हुने देखिएको छ ।