बाढीपिडीतको समस्या तत्काल समाधान गर्न माग

सुर्खेत, १४ जेठ (जागरण) । कर्णालीमा प्रदेशसभाको दोस्रो अधिवेशन अन्तर्गत संसदको दोस्रो वैठक आईतबार बसेको छ । आईतबारको वैठकमा विशेष समयमा बोल्दै सांसदहरुले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् । वैठकमा सांसद पद्मा खड्काले आफूहरुले बारम्बार आवाज उठाउँदा पनि सरकारले सुनुवाई नगरेको बताउनुभयो ।
उहाँले चार वर्षदेखि त्रिपालमा बस्दै आएका सुर्खेतका बाढी पिडीतको पुनःस्थापना तत्काल गर्न सरकारसँग माग गर्नुभयो । हामीले सदनमा धेरै पटक कुरा उठायौँ, उहाँले भन्नुभयो,‘अहिलेसम्म पनि सरकारले बाढीपिडीतका विषयमा गम्भीर भएर सोचेकै छैन, कष्टकर जीबन काटिरहेका बाढीपिडीतलाई तत्काल पुनःस्थापना गरियोस् ।’
यस्तै, वैठकमा सांसद विन्दमान विष्टले मुख्यमन्त्री कार्यालयअन्र्गत रहेको कोषबाट तत्काल बाढी पिडीतको पुनःस्थापना गर्न माग गर्नुभयो । उहाँले मुख्यमन्त्रीको मातहतमा रहेको प्राकृतिक पछिको उद्दार र राहतको व्यवस्था बजेटमा गरिएको स्मरण गराउँदै त्यही कोषको कार्यान्वयनका लागि तत्काल कार्यान्वयन गर्न माग गर्नुभयो ।
यसैबिच, कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि बजेटका सिद्धान्त, उद्देश्य, निति तथा प्राथमिकता संसदमा पेश गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पुर्व बजेट छलफलका लागि विनियोजन विधेयक २०७५ पेश गर्दै बजेटमा भौतिक पूर्वाधार,कृषि, पर्यटन, उद्योग, स्वास्थ्य र शिक्षामा प्राथमिकता दिइने बताउनु भयो ।
मन्त्री ज्वालाले यसका बारेमा छलफल गरेर रचनात्मक सल्लाह सुझाव दिन पनि सांसदहरुसंग अनुरोध गर्नुभयो ।
यस्तै आईतबारको बैठकमा मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासम्बन्धी बनेको विधेयक–२०७५ र सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धि बनेको विधेयकमा शैद्धान्तिक छलफल गरी शंसोधनका लागि ७२ घण्टाको समय तोकिएको छ । प्रदेश सभाको बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।